जनता टाइम्स

२२ आश्विन २०७८, शुक्रबार २२:५८

सहरी बिकाशमन्त्री रामकुमारी झाँक्रीको पहिलो निर्देशन : बजेट फ्रिज भयो भन्‍ने सुन्‍नु नपरोस


काठमाडौं, असोज २२ । नवनियुक्त सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफ्नो मन्त्रालयमा बजेट फ्रिज गरेको सुन्नु नपरोस भन्दै कर्मचारीलाई कडा निर्देशन दिनुभएको छ । मन्त्रीको शपथ गरी मन्त्रालय पुगेर आज पदभार ग्रहणपछि मन्त्री झाँक्रीले यस्तो निर्देशन दिनुभएको हो ।

नवनियुक्त मन्त्री झाँक्रीले सम्पूर्ण क्षमता लगाएर काम गर्नुपर्ने भन्दै बजेट फिर्ता पठाउने अवस्था आउन नदिन कर्मचारीलाई सचेत गराउनु भयो । ‘भन्ने भन्दा धेरै सुन्ने, सुन्नेभन्दा धेरै गर्ने हो । के काम गर्न सकिन्छ गरौं, सहरी विकास मन्त्रालयले बजेट समर्पण गर्‍यो भन्ने सुन्नु नपरोस,’ कर्मचारीहरूलाई निर्देशन दिँदै मन्त्री झाँक्रीले भन्नुभयो । मन्त्रालयका अधिकारी र मातहतका विभाग तथा आयोजना प्रमुखहरूलाई आफ्नो काम र योजनाबारे लिखितमा ब्रिफिङ गर्न पनि मन्त्री झाँक्रीले निर्देशन दिनुभयो ।

मन्त्रालयमा बसेर कामको प्रगतिबारे ब्रिफिङ गर्नुभन्दा पनि काम भइरहेका कार्यालयमा नै गएर ब्रिफिङ लिने उहाँको भनाई थियो । ‘मन्त्रालयमा हुने ब्रिफिङमा मलाई बुँदागत रूपमा लिखितमा दिनुपर्छ । मन्त्रालयमा ब्रिफिङ गर्नुभन्दा पनि काम भइरहेका कार्यालयहरूमा ब्रिफिङ गर्नुपर्छ, छिटो गर्नुपर्छ,’ झाँक्रीले भन्नुभयो ।