जनता टाइम्स

२४ आश्विन २०७८, आईतवार ०९:३४

उद्योगमन्त्री गजेन्द्र हमालले गरे राजीनामा दिने घोषणा


काठमाडौं, असोज २४ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले राजीनामा दिने बताउनु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आज राजीनामा दिने तयारी हमालले गर्नुभएको स्वकीय सचिवालयले जनाएको छ । मन्त्री हमालले पत्रकार ऋषि धमलासँगको कुराकानीमा राजीनामा दिने जानकारी गराउनु भएको हो ।

आफूले स्वविवेक प्रयोग गरेको र विवादमा नफस्ने भन्दै राजीनामा दिन लागेको मन्त्री हमालले बताउनु भएको छ । हमाललाई प्रधानमन्त्री देउवाले प्रधानन्यायाधीशको कोटामा मन्त्री बनाउनु भएको थियो । हमाल प्रधानन्यायाधीशका जेठान हुनुहुन्छ ।

उहाँ सांसद पनि हुनुहुन्न । मन्त्री चयनमा प्रधानन्यायाधीशलाई पनि भाग दिएको भन्दै अहिले चर्को आलोचना भइरहेको छ। हमाल असोज २२ गते मन्त्री नियुक्त हुनुभएको थियो । उहाँ मन्त्री भएपछि कानुनविदहरूले प्रधानन्यायाधीशलाई सर्वाेच्च फर्कन दिन नहुने अडान राख्दै आएका छन ।