जनता टाइम्स

२४ आश्विन २०७८, आईतवार १२:२८

नारायणगढ-मुग्लिनको चौधकिलोमा तिहारपछि मात्र सडक मर्मत हुने


कुलप्रसाद काफ्ले / न्युज कारखाना
चितवन, २४ असोज ।
दसैँमा राजधानी काठमाडौंबाट जिल्ला/गाउँ फर्किनेको चाप ह्वात्तै बढेको छ । तर, उपत्यकाबाट बाहिरिने मुख्य सडक मार्गको हालत बेहाल छ । तीन वर्षअघि विस्तार भएको नारायणगढ(मुग्लिन सडक तीन ठाउँमा भाँसिएको छ । भाँसिएको मध्ये चौधकिलो क्षेत्रमा त मर्मतको काम सुरु नै भएको छैन । बाँकी दुई ठाउँमध्ये सत्रकिलो क्षेत्रमा मर्मत भए पनि छब्बिसकिलो क्षेत्रमा खाल्टा पुर्ने काम अझै सकिएको छैन ।

चौधकिलो क्षेत्रमा वर्खामा भाँसिएको सडक मर्मतको काम तिहारपछि मात्र हुने सडक डिभिजन भरतपुरका सूचना अधिकारी शिव खनालले बताउनुभयो । ‘मर्मतका लागि टेण्डर आह्वान भएको छ । तिहारपछि मर्मतको काम सुरु हुन्छ,’ उहाँले भन्नुभयो । चौधकिलो, सेती दोभान लगायतका स्थानमा कालोपत्रे भत्किएर ठूल्ठूला खाल्टाखुल्टी परेका छन् । यद्यपि सानातिना खाल्टा त्यसअघि डिभिजनले स्थानीय निर्माण सामग्री प्रयोग गरेर पुर्ने उहाँले दाबी गर्नुभयो ।

दसैँतिहारमा खाल्टाखुल्टी पुर्न र सहजीकरण गर्न शनिबार जिल्ला प्रशासन कार्यालय चितवनमा छलफल भएको छ । खाल्टाखुल्टी भएको ठाउँमा सवारीसाधन बिग्रिएमा तत्काल पन्छाउन पनि कुनै उपाय अबलम्बन गरिएको छैन । खनालकाअनुसार दुई वर्ष अगाडि सत्रकिलो र छब्बिसकिलोमा भाँसिएको सडक मर्मतको काम नारायणगढ(मुग्लिन सडक आयोजनाले गर्दैछ । सडकमा पहिरो रोक्न करिब ६० हजार वर्गमिटर क्षेत्रमा रक नेटिङ गरिएको छ । सेती दोभानमा गएको बर्खामा रक नेटिङ गरिएको ६० वर्गमिटर जति क्षेत्रमा पनि पहिरो गएको छ ।

नारायणगढ–मुग्लिन सडकमा दैनिक सानाठूला गरी १५ हजार सवारीसाधन गुड्छन् । तर, दसैंँ सुरु भएसँगै यो संख्या अझ बढ्न थालेको ट्राफिक प्रहरीको भनाइ छ । पृथ्वी राजमार्गअन्तर्गतको चितवन र धादिङको सिमानामा पर्ने जोगिमारा र जवाङ खोला नजिक शाखा सडकको हालत पनि उस्तै छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौविसेमा सधैँजसो गाडीको जाम लाग्ने गर्छ । सुरुङ मार्ग बनाउन लागिएकाले त्यस स्थानमा यात्रुले बढी सास्ती खेप्न बाध्य छन् ।