जनता टाइम्स

२५ आश्विन २०७८, सोमबार ००:२६

अन्तिम ओभरमा धोनीको कमाल, फाइनलमा पुग्यो चेन्नई सुपर किंग्स


भारत, असोज २५ । चेन्नई सुपर किंग्स आइपिएल २०२१ को फाइनलमा प्रवेश गरेको छ। आइतबार राति भएको पहिलो क्वालिफाइनल खेलमा दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गर्दै चेन्नई फाइनलमा पुगेको हो।

दिल्लीले दिएको १७३ रनको लक्ष्य चेन्नईले २ बल खेल्न बाँकी छदा ६ विकेट गुमाएर पार गर्‍यो। चेन्नईको जितमा कप्तान महेन्द्रसिंह धोनीले नटआउट १८ रन जोडे। उनले ६ बलमा ३ चौका र १ छक्का हिर्काए। अन्तिम ओभरमा चेन्नईलाई जितका लागि १३ रन चाहिएको थियो। बलिङमा दिल्लीका टम कुरान आएका थिए। ब्याटिङमा धोनीसँगै मोइन अली थिए। तर पहिलो बलमै अली आउट हुन पुगे। जसका कारण चेन्नईलाई ५ बलमा १३ रन चाहिने स्थिति बन्यो।

जसमा धोनीले लगातार दुई चौका हिर्काए। त्यसपछिको बल वाइड भयो। फेरि अर्को बलमा धोनीले चौका हिर्काएपछि चेन्नईको जित पक्का भयो। यस्तै चेन्नईका लागि रोबिन उथप्पाले ६३ रन र ऋतुराज गायकवाडले ७० रन जोडेर चेन्नईको जितको आधार तय गरेका थिए।

त्यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले ५ विकेटको क्षतिमा १७२ रन जोड्यो। दिल्लीका लागि कप्तान रिशव पन्तले नटआउट ५१ जोड्दा ओपनर पृथ्बी शाले ६० रनको योगदान गरेका थिए।