जनता टाइम्स

२७ आश्विन २०७८, बुधबार ०९:२७

दसैँमा ‘जुजु धौँ’ को माग दोब्बर, गुणस्तरीय दुध नहुँदा बनाउन समस्या


भक्तपुर, असोज २७ । छरिएका भुस । त्यसमाथि राखिएका भेट अर्थात् दही जमाउने माटाका भाँडा । त्यही भाँडामा दही जमाउँदै हुनुहुन्छ लक्ष्मी सैँजु । लामो समयदेखि दही बनाउँदै आउनुभएकी सैँजुको दैनिकी सोही काममा व्यतित हुन्छ । हरेक दिन बिहान ६ बजेदेखि नै दही बनाउन सुरु गर्ने उहाँ साँझसम्म पनि त्यसैमा व्यस्त हुनुहुन्छ ।

‘हामी अर्डर अनुसार दही बनाउछौं । दसैँ तिहारलगायत चाडपर्वमा त काम भ्याइ नभ्याई नै हुन्छ,’ उहाँले भन्नुभयो, ‘चाडपर्वमा दहीको माग नै दोब्बर हुन्छ । मागअनुसार दही उत्पादन गर्छौं ।’ उहाँसंगै प्रमिला राई पनि भक्तपुरे जुजु धौँ बनाउँदै आउनु भएको छ । नुवाकोट निवासी राई तीन वर्षदेखि सैँजु जुजु दही भण्डारमा आबद्ध भई दही बनाउन व्यस्त हुनुहुन्छ ।

यहाँको दही मात्रै नभई दुध पनि स्वादिष्ट हुने उहाँ बताउनु हुन्छ । गाउँका दुध डेरीले जम्मा गरेका दुध सैँजुको दही भण्डारमा बिहानै आइपुग्छ । दुई ल्याउनुभन्दा पहिले दुबै जना भण्डारणमा गई काम गर्न थालेका हुन्छन् । कहिले एक जना सफा गर्ने त कहिले अर्को तर बिहान ६ बजेदेखि नै काम सुरु गरिसक्ने उहाँहरुको भनाई छ ।

सबेरै उठेर घरको काम सकाई ६ बजेदेखि दुध तताउन आगो बाल्ने सैँजु बताउँछिन् । ‘गाउँबाट राति नै दूध आउँछ । त्यसलाई आगो बालेर ठुलो कराईमा तताउँछौ,’ उहाँले भन्नुभयो, ‘एक देखि डेढ घण्टा तताएपछि केही बेरा सेलाउन दिन्छौँ र दही बनाउने भाँडामा हाल्छौँ, भाँडा अनुसार दुध हाल्नुपर्छ । हामीले दहीमा चिनी मात्रै मिसाउछौं । तर आवश्यकता र स्वादअनुसार सुकमेल, नरिवललगायतको सामग्री हाल्छौँ । जुन अर्डरअनुसार हुन्छ ।’

पुर्ख्योली पेसाको रुपमा सो काम गर्दै आएकी उहाँ आजभोलि दहीको स्वाद र ब्राण्डमा आएको परिवर्तनमा चिन्तित हुनुहुन्छ । ‘जुजु धौँ बनाउने छुट्टै विधि छ । परम्परागत शैलीमा बनाइन्छ । तर आजभोलि नयाँ दही व्यवसायीले नाम जुजु धौँ राखेर स्वाद र सामग्री अरु नै प्रयोग गर्छन् । अनि मारमा हामी परेका छौँ,’ उहाँ भन्नुहुन्छ ।

जुजु धौँ बनाउनको लागि भैँसीको दुध र धेरै चिल्लो पदार्थ हुने दुध आवश्यकता भए पनि आजभोलि सोअनुसारको दुध खपत नहुने उहाँले सुनाउनु भयो । यहाँ उत्पादन भएका दही भक्तपुर, काठमाडौं, ललितपुरलगायत मुलुकका विभिन्न जिल्लामा बिक्री गरिँदै आएको छ । न्यूज कारखाना