जनता टाइम्स

२७ आश्विन २०७८, बुधबार ११:२४

साकार हुँदै केपी ओलीको अर्काे सपना, धौवादी फलाम खानीमा थालियो ड्रिलिङ


पूर्वी नवलपरासी, असोज २७ । फलामको मात्रा यकिन गर्न धौवादी फलाम खानी क्षेत्रका पाँच स्थानमा ड्रिलिङ थालिएको छ । भूगर्भविद्हरू अर्जुन भण्डारी र पशुपति गैरेको टोलीले फलाम खानी रहेको भनिएको पाँच भिन्न स्थानमा ड्रिलिङको काम अघि बढाएको हो ।

भण्डारी र गैरेको टोलीले दिएको जानकारीअनुसार जमिनको सतहबाट २ सय ४० मिटर, २ सय ६८ मिटर, २ सय १० मिटर, १ सय ६५ मिटर र १ सय २ मिटर ड्रिलिङ गरिएको छ । भूगर्भविद् सौनक भण्डारीका अनुसार तीमध्ये धौवादी र पोखरी क्षेत्रमा गरिएको नमुना परीक्षणमा फलामै फलाम भेटिएको छ भने अन्यत्र फलामभन्दा ढुंगाको मात्रा बढी भेटिएको छ । ढुंगा र फलाम मिश्रित चट्टानको नमुनाको थप विश्लेषण भइरहेको भण्डारीले जानकारी दिनुभयो ।

‘धौवादी पहाडको १० किलोमिटर क्षेत्रमा कम्तीमा १० करोड टन फलाम रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । संकलित नमुनामा २५–६५ प्रतिशतसम्म फलामको मात्रा भेटिएको छ,’ भण्डारीले भन्नुभयो । संसारका अन्य फलाम खानीको अवस्था विश्लेषण गर्दा ६५ प्रतिशतभन्दा बढी फलामको मात्रा भएको स्थानलाई उत्खननका लागि उपयुक्त मानिन्छ ।

हालसम्म गरिएको उत्खननलाई विश्लेषण गर्दा धौवादीमा उद्योग नै स्थापना गरेर फलाम निकाल्न उत्साह जगाउने परिणाम (ढुंगामा फलामको मात्र बढी हुनुपर्ने) भने नभेटिएको उनको भनाइ छ । उहाँका अनुसार पहाडमा जति धेरै मात्रामा फलामको परिणाम भेटिन्छ उति नै उत्पादन लागत सस्तो पर्छ र बजारमा मूल्यमा प्रतिस्पर्धा गर्न सजिलो हुन्छ । फलामभन्दा ढुंगाको मात्रा बढी हुँदा २-३ पटक प्रशोधन गर्दा लागत बढ्छ र बजार मूल्यमा प्रतिस्पर्धा गर्न सक्दैन ।

एमाले अध्यक्ष तथा अघिल्लो सरकारका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले धौवादीमाफलाम खानीबारे अनुसन्धान अघि बढाएको थियो । ओली सरकारकै पहलमा यो खानी सञ्चालनमा आउन लागेको हो । तात्कालिन प्रधानमन्त्री ओलीकै बिशेष पहलकदमीमा धौवादी फलाम खानीको काम अघि बढेको हो

उहाँका अनुसार पाँच स्थानबाट निकालेको नमुना शनिबार नै काठमाडौं पठाइएको छ । खानी तथा भूगर्भ विभागको प्रयोगशालामा त्यसको थप परीक्षण गरेर फलामको मात्रा यकिन गरिने भण्डारीले जानकारी दिनुभयो । गत साता निकालिएको नमुनामा फलामको मात्रा यकिन भएपछि फलामखानी सञ्चालन गर्न डीपीआरलगायतको काम अघि बढ्ने छ ।

एमाले अध्यक्ष तथा अघिल्लो सरकारका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले धौवादीमाफलाम खानीबारे अनुसन्धान अघि बढाएको थियो । ओली सरकारकै पहलमा यो खानी सञ्चालनमा आउन लागेको हो । तात्कालिन प्रधानमन्त्री ओलीकै बिशेष पहलकदमीमा धौवादी फलाम खानीको काम अघि बढेको हो ।