जनता टाइम्स

३० आश्विन २०७८, शनिबार ०९:३४

हात र खुट्टा काटेर किसानको पाशविक हत्या, आक्रमणकारीले गरे आत्मसर्मपण


नयाँ दिल्ली, ३० असोज । भारतमा एक किसान हत्याका आरोपितमध्येका एक व्यक्तिले प्रहरीसमक्ष आत्मसर्मपण गरेका छन् । शिख समुदायमा आबद्ध निहाङ समूहका सर्वजित सिंहले हत्याको जिम्मा लिँदै प्रहरीसमक्ष आत्मसर्मपण गरेका हुन् । हिजो साँझ हरियाणा र दिल्लीको सिमाको सिंघुमा एक किसानको बायाँ हात र दायाँ खुट्टा काटिएको बेवारिसे शव फेला परेको थियो ।

आत्मसर्मपणपछि पक्राउ परेका सिंहलाई आज नै अदालतमा पेस गर्ने प्रहरीको तयारी छ । किसानको शव शुक्रबार साँझ पाँच बजे सडकको एउटा छेउमा फालिएको अवस्थामा फेला परेको थियो । मारिएका व्यक्ति पन्जाबका अन्दाजी ३५ वर्षका लखबीर सिंह भएको प्रहरीले जनाएको छ । उहाँका श्रीमति र तीन छोरी छन् । उहाँको पाशविक हत्या गरेका तीन ओटा भिडियो सार्वजनिक भएका छन् ।

एउटा भिडियोमा लखनबीरको बायाँ हात काटेपछि आक्रमणकारीको समूह उहाँको शरीर कुच्लिएको देख्न सकिन्छ । उहाँको हात र खुट्टा काट्नुअघि उहाँलाई निर्मम ढंगले कुटपिट गरिएको थियो । शिख धर्मालम्बीहरुको पवित्र पुस्तक गुरु ग्रन्थ साहिबलाई अपमान गरेको आरोपमा उहाँको पाशविक हत्या गरिएको अनुमान गरिएको छ । यसको स्वतन्त्र पुष्टि हुन बाँकी छ ।

यसअघि हरियाणाका मुख्यमन्त्री एमएल खातरले दोषीलाई कडा कारबाही गर्ने चेतावनी दिनुभएको थियो । उहाँको पाशविक हत्या गरेको भिडियो सार्वजनिक भएपछि गृहमन्त्री अनिल भिजे र हरियाणा प्रहरी प्रमुखसँगको भेटमा उहाँले हत्यारालाई कडा कारबाही गरिने बताउनुभएको थियो । यसैबीच किसानहरुको छाता संगठन संयुक्त किसान मोर्चाले हत्याको निन्दा गर्दै आक्रमणकारी र पीडित दुबै जना आफ्नो संगठनमा आबद्ध नरहेको जनाएको छ ।