जनता टाइम्स

३ कार्तिक २०७८, बुधबार १२:५१

फगतसिंहको सुसाइड नोट


एमाले सकाउन जीवनमा केसम्म गरिएन ?
वामदेवलाई जासुसी गर्न छोडिएकै हो
झाँक्रीलाई झारफुक गर्न उतारिएकै हो
झलनाथलाई कम्ती उचालिएको होइन
त्यतिले मात्र नपुगेर
माधवलाई कम्ता उफारिएको होइन
एमालेको धनसार कुम्ल्याउन
ओली मृत्यु कुरेर बसेँ ।
घरबेटी खेद्ने डेरावालबाट सबक लिएँ
सेटिङ खेतीमा ढिलो लागिएछ
ऋषि कटेललाई धक्काउन सकिएन ।
रित्तिदैन किन एमालेको दियोको तेल ?
कसै गरे पनि नसकिने रहेछ गाँठे
ध्वस्त भए मेरा सपना अनेक
आखिर जनता रहेछन् महाशक्ति एक ।


दयालबहादुर शाही

प्रिय आफन्तहरु !
सिको नगर्ने उनी भगत सिंह थिए
सिको गर्ने म फगत सिंह न परेँ !
फगतमै भए पनि सुसाइड नोट लेख्दैछु ।
आत्महत्या गर्नुअघि
भगतले भने– ‘आमा मैले यति नै गर्न सकेँ’
म भन्दैछु तिमीहरुलाई
‘तिमीहरुका निम्ति म
यतिसम्म तल गिर्न सकँे ।
तिमीहरु बाहेक साराका सारालाई
पिर्नसम्म पिर्न सकेँ ।
तिमीहरुका निम्ति मैले
यति धेरै गर्न सकँे
दुनियाँ चिडाएर सारा
तिम्रा गोजी भर्न सकेँ ।’

उहिलै एलेण्डेको जस्तो मृत्यु भोग्नुपथ्र्यो मैले
या त भगत सिंहले झै सेरिनु पथ्र्यो म
बालुवाटारबाट ज्यान जोगाई भागेँ ।
सपत्नी कटकाल निवासमा गएर भनेकै हुँ
‘दाइ, तपाईँ राजदूत हो, राजदूत नै हो ।’
रिटायर्ड जीवनको नसामा लठ्ठिएनन कटवाल
सेनाको लागि स्वाभिमानको मेरुदण्ड बने
अनुयायीका निम्ति प्रेरणा बने
हिम्मत गरे कटवालले ।
आस र त्रासको जाल फालेकै थिएँ मैले
त्यस पटक मेरो जाल नै मेरो काल बन्यो । सबैलाई सक्छु म
तर निलोर्भी र निडरमाथि भल्दैन मेरो जादुटुना ।
आश र त्रासबाट प्रभावित नहुने सामु
पानीमा आगो लगाउने जुन मेरो जादु छ
त्यसले समेत हात उठाउनु पर्छ ।

सत्र हजारको नरमेध यज्ञमा
दुई जना कसरी छुटेछन् ?
गिरिजालाई देखेनछ मेरो बन्दुकले
एमालेमा केपी देखेन छ मेरो एम्बुसले
सेनामा कटवाल भेदेनछ मेरो लन्चरले
कर्ण थापा किन कड्किन्छ ?
सूर्यको जिब्रो किन च्यातिएन छ ?
गोकुल बास्कोटा कसरी छुटेछ
महेश बस्नेत कसरी बचेछ ?
पश्चातापले भत्भती पोल्छ मलाई ।
चारैतिरबाट पूर्ण पतनले दपेटिसक्यो
रुँदा रुदा आँशु निख्रिक्यो
स्वर्ग नाथे साँच्चै रहेनछ
नत्र पुत्रले पठाउँदो हो मलाई आँशु ।

हो, तानाशाहहरु हार्न चाहँदैनन् ।
या त बौलाउँछन् या आत्महत्या गर्छन् ।
रुँदारुँदै हाँस्छु म
हाँस्दाहाँस्दै रुन्छु म
पागलपनसँगको यो खुसामत
मेरो अचेलको जीवनशैली हो ।

देखिनलाई म खाँटी क्रान्तिकारी
खासमा म धुन्दकारी
देशका लागि उल्टो टेबल
अरुका लागि कम्फरटेबल
नेपालीलाई मैले गन्दै गनिनँ
जनताको शक्ति कहिलै चिनिनँ
बादलले तान्थे मलाई नुवाँगाउँतिर
बाबुरामले खादे मलाई नोयडातिर
उकालोलाग्ने म पवर्तारोही परिनँ
त्यत्रा नदी त ओरालो झर्छन्
तिनकै किको गरेर भासिएँ दक्षिणतिर
कम्फरटेबल कला, साहित्य र विज्ञान सबै हो
यसैमा पारंगत छु ।
मेड इन नोयडा हुँ म ।
भारतमातालाई ढोग्ने र बोक्ने हो
नेपाल र नेपालीलाई ठुँग्ने र ठोक्ने हो ।
हेगमा पुग्नु भन्दा
कुमार लामाझै विदेशमै थुनिनु भन्दा
नेपाल ठुग्ने सर्पको जुनी राजी छ मलाई ।
किनकी म
अरुको खुशीमा हाँस्ने रसायनले बनेको छैन ।

‘अविवेकीको पतन अनेक प्रकारले हुन्छ ।’
व्यास भन्ने प्रतिक्रियावादीले पनि
मलाई नै लक्षित गरेर भने जस्तो लाग्छ ।
हुन पनि म आफु
आफ्नै हत्केलाबाट खसे जस्तो लाग्छ ।
सत्ताकब्जाको नजिकै पुगिसकेको म
ल्गभग तानाशाह बनिसकेको म
सेनाभित्रको कमजोर तन्तु
कुलबहादुरको भर परेर चुकेँ ।
ढाडमा टेकेर टाउकोमा हान्ने
मने, मेरो फण्डाले मलाई नै धोका दियो ।

सफलता देवी
मेरोनिम्ति बाँदरको हातको नरिवल बनिन्
तिनले मलाई नराम्रोसँग छलिन् ।
कर्म कुकर्म मेरो पनि कम थिएन
एमाले र कांग्रेसदेखि वाक्क थिए जनता
जोरीपारीका छिद्रहरु थाह थिए मलाई
मुसो मलाई जनताले सिंह बनाए
म परेँ फेरि भुईँमा खुट्टा नराख्ने मान्छे ।
मैले कुम हुल्लाएर बोल्न थालेँ
बाबुरामले घिरौंला जत्रो नाक बनाए
हुन पनि हामी मात्तिन सम्म मात्तियौं
जनता चिडिने गरी पात्तिनसम्म पात्तियौ ।
बैशमा स्याल पनि घोर्ले हुन्छ
उफ्रिनसम्म उफ्रियौं
नाँच्नसम्म नाँच्यौं
खित्का छोडेर हाँस्यौं
कसैलाई गन्दै नगन्ने भयौं ।
भारतलाई धम्काउन चीनसँग टाँसिएँ
गिरिजाप्रसादलाई राष्ट्रपति नदिनुनेर गल्ती भो ।
पद र सम्मानका अगस्ती माधवलाई
उपराष्ट्रपतिमा थन्काउन सकिन्थ्यो
तिनीहरुलाई ओली कित्तामा धकेलिएछ
वास्तवमा मैले
आफ्नै खुट्टामा बन्चरो हानेछु ।
सिंहको जस्तो गर्जन रहेन अब मेरो
जनता नै उल्टो भैदिएपछि
आवाजमा दम हराएको छ अचेल
सिंहबाट पुनर्मुसी भइएछ
साला धम्कीको तोड पनि
मुसीका चुँचुँको तहमा झरेको छ ।

किंग, कोइराला र कटवाल
पालैपालो निलेर
सत्ताकब्जाको दाऊमा थिएँ म
मधुकैठब भन कि रावण ?
कंश भन कि दुर्योधन ?
मतलब हुँदैन मलाई ।
उस्तै परे अल ईन वन हुनुपर्ने हुन्छ ।

कुनै बेला मेरा मात्र कुरा सुन्थे गिरिजा
क्षणिक सफलताको विजय उन्मादले
तिनको उपयोगिता सकियो ठानेँ
त्यहीनेर भयो बबण्डर गल्ती ।
त्यहीँनेरबाट सुरु भयो मेरो ओरालो यात्रा
ओलीले मारे बाजी ।

ओली नै परे म माथि भारी
ज्याद्रा रहेचन् यी मान्छे
दुई दई पटक मृगौला प्रत्यारोपन पनि
यिनको मात्र सफल हुनुपर्ने ।
धर्मदेखि मात्र होइन
विज्ञानदेखि पनि रिस उठेर आउँछ ।
ओली कसरी विजेता बने ?
आश्चर्यमा परेको छु म ।
राजाहरुको साथमा विरासत थियो
विपीका अगाडि पिताजी र दाजु थिए
गणेशमान, कृष्णप्रसाद, गिरिजाप्रसाद पछाडि थिए
मदनका अघि थिए मनमोहन
पछि थिए केपी, माधव र वामदेव
मेरा अगाडि जीवनगुरु मोहन बैद्य रहे
पछाडि रहे बादल र बाबुराम
पानीमा आगो बाल्न सक्छु म
लण्ठु माधव, झलनाथ र वामदेवलाई
एमालेविरुद्ध उतार्न सकेँ मैले
ओेलीलाई एक्लाउनसम्म एक्लाएँ
यति भएर पनि
मेरो आफ्नो पार्टी सुकाउने एमाले यज्ञको
व्याशासनमा बसेकै छन् ओली
युवाको दलमा, जनताको वलमा ।

निभ्ने बेलाको बत्तीझै
अन्तिम प्रयास गरिएकै थियो
पाण्डव सकाउन खोज्ने दुर्योधनले झै
एमाले सकाउन जीवनमा केसम्म गरिएन ?
वामदेवलाई जासुसी गर्न छोडिएकै हो
झाँक्रीलाई झारफुक गर्न उतारिएकै हो
झलनाथलाई कम्ती उचालिएको होइन
त्यतिले मात्र नपुगेर
माधवलाई कम्ता उफारिएको होइन
एमालेको धनसार कुम्ल्याउन
ओली मृत्यु कुरेर बसेँ ।
घरबेटी खेद्ने डेरावालबाट सबक लिएँ
सेटिङ खेतीमा ढिलो लागिएछ
ऋषि कटेललाई धक्काउन सकिएन ।
रित्तिदैन किन एमालेको दियोको तेल ?
कसै गरे पनि नसकिने रहेछ गाँठे
ध्वस्त भए मेरा सपना अनेक
आखिर जनता रहेछन् महाशक्ति एक ।