जनता टाइम्स

४ कार्तिक २०७८, बिहीबार ०९:२३

आजबाट मौसम सुधार, धेरै ठाउँमा घाम लाग्ने



काठमाडौं, कात्तिक ४ । मौसम पूर्वानुमान महाशाखाले आजबाट मौसममा सुधार हुने बताएको छ । मौसमविद् वरुण पौडेलले आजदेखि मौसममा सुधार हुँदै जाने बताउनु भयो । ‘अर्को प्रणाली नआएसम्मका लागि अब ठूलो पानी पर्ने सम्भावना छैन’ मौसमविद् पौडेलले भन्नुभयो, ‘पानी पार्ने प्रणाली बाहिरिसकेको छ । आजबाट धेरै ठाउँमा घाम लाग्छ ।’

पहाडी भूभागमा छिटपुट बादल देखिए पनि त्यो पहिलेको प्रणालीले छाडेको सामान्य प्रभाव भएको उहाँको भनाई छ । नेपालमा भारतको बिहार र उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावका कारण गत असोज ३१ गतेबाट कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा अत्यधिक वर्षा र अन्य प्रदेशका केही स्थानमा भारी वर्षा भएको थियो । पानी पार्ने सो प्रणाली क्रमशः पूर्वतर्फ सर्दै गएको थियो । सो प्रणालीका कारण देशभर बाढी र पहिरो आउँदा ठूलो जनधनको क्षति भएको छ । गृह मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार हालसम्म ८८ जनाको मृत्यु र २६ जना बेपत्ता भएका छन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार भारत बिहारमा रहेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको सामान्य प्रभाव नेपालमा कायमै छ । सोही प्रभावका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली छ ।

महाशाखाले २४ घण्टे चेतावनी तथा परामर्श जारी गर्दै प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका एक वा दुई स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन भनेको छ ।