जनता टाइम्स

४ कार्तिक २०७८, बिहीबार ०९:३२

सन् २०२२ मा पनि कोभिड महामारी कायमै रहन्छ : डब्लूएचओ


न्युयोर्क, कात्तिक ४ । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले अझै पनि खोप लगाउन नपाएकोले सन् २०२२ मा पनि कोभिड संक्रमण कायमै रहने डब्लूएचओले जनाएको हो ।

डब्लुएचओका वरिष्ठ नेता डा. ब्रुस आयलवार्डले विश्वमा सन् २०२२ मा पनि कोभिड संकट गहिरो रुपमा देखिने बताउनु भयो । विकासन्मुख देशका नागरिकमा अझै पनि खोपको पहुँच नभएको र विकसित देशका कतिपय व्यक्तिले खोप लगाउन अस्विकार गरिरहेको अवस्थामा अर्को वर्ष पनि संक्रमण देखिने उहाँको भनाई छ ।

रसियामा आधाभन्दा बढी जनसंख्याले खोप लगाएका छैनन । अविश्वासका कारण खोप नलाउँदा त्यहाँ दैनिक संक्रमण ५० हजार भन्दा धेरै छ । बुधबार मात्र रसियामा कोभिडका कारण एक हजार १०० जनाको मृत्यु भएको थियो । त्यस्तै, अफ्रिकामा कूल जनसंख्याको ५ प्रतिशत भन्दा थोरैले खोप लगाएका छन् । जबकी अन्य महादेशमा भने ४० प्रतिशतले खोप लगाएका छन् ।

विकसित देश अमेरिकामा अझै पनि करोडौंले खोप लगाएका छैनन् । खोप नलाउनेलाई विभिन्न सेवामा प्रतिबन्ध लगाउने क्यानडाले घोषणा गरिसकेको छ । त्यस्तै, ब्राजिलका राष्ट्रपति स्वयंमले खोप लगाउन मानिरहनु भएको छैन । ब्राजिलमा कोभिड संक्रमणबाट ठूलो संख्यामा मानिसहरुको मृत्यु भइरहेका बेला उहाँले कोभिडलाई सामान्य रुपमा टिप्पणी गर्दै आउनु भएको छ ।

यसैबीच, बेलायतले बिभिन्न देशलाई १ करोडभन्दा बढी डोज खोप दिएको छ । उसले १० करोड खोप वितरण गर्ने जनाएको छ ।