जनता टाइम्स

४ कार्तिक २०७८, बिहीबार १०:१३

स्थलगत यात्रा गर्दै हुनुहुन्छ ? सावधान ! यी १४ ओटा सडक छन अवरुद्ध


काठमाडौं, कात्तिक ४ । विगत केही दिनदेखिको अविरल वर्षाका कारण मुलुकभरि १४ वटा सडक अवरुद्ध भएका छन् । अनपेक्षित रूपमा सुरु भएको वर्षाले आवश्यक तयारीको अभावमा समेत राजमार्ग तथा सडकमा ठूलो क्षति पुर्याएको सडक विभागले जनाएको छ ।

सडक विभागका अनुसार वर्षाका कारण जयपृथ्वीबहादुर सिंह मार्गको खोर्पेदेखि बझाङसम्म, सेती राजमार्गको डडेल्धुराबाट डोटी जाने सडक ठाउँठाउँमा अवरुद्ध भएको छ । त्यसैगरी उहाँले साँफेबगरबाट मार्तडी जाने सडक पुनः अवरुद्ध भएको बताउनुभयो । यसअघिको वर्षायाममा अवरुद्ध भएको सो सडक एक महिनाअघि मात्र सञ्चालनमा आएको थियो । उहाँले महाकाली राजमार्गअन्तर्गत धनगढीदेखि डडेल्धुरासम्म ठाउँठाउँमा अवरुद्ध भएको सडक सञ्चालनमा आइसकेको जानकारी दिनुभयो । त्यसैगरी हुलाकी राजमार्गअन्तर्गत कैलालीको टीकापुर–राजापुर खण्डको सतीघाट भन्ने ठाउँमा ठूलो क्षति पुर्याएको बिभागले जनाएको छ ।

बिभागका महानिर्देशक अर्जुनजंग थापाका अनुसार बेँसीसहर चामेबाट मनाङ जाने सडक पुनः अवरुद्ध भएको छ । वर्षाले क्षति भएको यो सडक दुई महिनाअघि मात्र सञ्चालनमा आएको थियो । त्यसैगरी मुस्ताङ जाने सडकको काभ्रेभीर भन्ने ठाउँमा सडक अवरुद्ध भएको छ । केही दिनको वर्षाका कारण मुलुकभरि सञ्चालनमा आइसकेका कुनै पनि पुलमा अहिलेसम्म क्षति नपुगेको उहाँले स्पष्ट पार्नुभयो । उहाँका अनुसार वर्षाले क्षति भएका राजमार्ग तथा सडकमा अबको पाँच दिनभित्र आवागमन हुने गरी मर्मत कार्य सुरु गरिएको छ ।