जनता टाइम्स

५ कार्तिक २०७८, शुक्रबार ०८:३६

अमेरिकाको आर्टिसिया शहरको आयुक्तमा रामेश्वर भण्डारी नियुक्त


लस एन्जेल्स, कात्तिक ५ । अमेरिकाको आर्टिसिया शहरमा नेपाली मूलका रामेश्वर भण्डारी शहरी सुन्दरता र पुननिर्माणसम्बन्धी आयोगका आयुक्त नियुक्त हुनुभएको छ। सिटी काउन्सिलको बैठकले भण्डारीलाई आयुक्त नियुक्त गरेको हो।

अक्टोबर १३ तारिकका दिन उहाँले आयुक्त पदको शपथ ग्रहण गर्नुभएको छ। यो शहर अमेरिकाको चर्चित एन्जेलस काउन्टीमा पर्दछ। नेपालीहरु र एशियाली मुलका नागरिकहरु उल्लेख्य बस्ती रहेको सो शहरमा नियुक्त हुनुभएका भण्डारीले सो शहरको सुन्दरता र मर्मतसम्भारसम्बन्धी कार्यभार सम्हाल्ननु हुनेछ ।

‘यो कार्यकारी पद भने होइन, यो सल्लाह दिने पद हो,’ नियुक्तिबारे जानकारी दिँदै भण्डारीले डिसी भन्नुभएको छ, ‘शहरको पुननिर्माण र शहरको सुन्दरता बढाउने उपायहरुबारे सिटी काउन्सिललाई सिफारिस गर्ने जिम्मेवारी हो यो ।’

सिटी काउन्सिलले उहाँलाई कमिश्नर अफ व्युटिफिकेशन एण्ड मेन्टिनेन्स कमिशन पदमा नियुक्त गरेको पत्र दिएको छ । काउन्सिलको नियुक्तिअनुसार, उनको पदावधि चार बर्षको हुनेछ।

अंग्रेजीमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर भण्डारी हाल अमेरिकाको क्यालिफोर्नियास्थित लसएन्जेलस कम्युनिटी कलेजमा अंग्रेजी विषयका एसिस्टेन्ट प्रोफेसर हुनुहुन्छ ।