जनता टाइम्स

५ कार्तिक २०७८, शुक्रबार १२:५८

यी प्रस्तावसहित एनसेलले डाक्यो साधारणसभा


काठमाडौं, कात्तिक ५ । एनसेल आजियाटा लिमिटेडले दोस्रो वार्षिक साधारणसभा आह्वान गरेको छ । एनसेलले प्राइभेटबाट पब्लिक कम्पनीमा रुपान्तरण भएपछिको दोस्रो वर्षको साधारणसभा गर्न लागेको हो । कम्पनीले कार्तिक २९ गते लैनचौर स्थित आफ्नै कर्पोरेट कार्यालयमा सभा आह्वान गरेको हो । कम्पनीले सभामा कम्पनीको ऋण सम्बन्धमा र आर्थिक वर्ष २०७७/७८ मा कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वसँग सम्बन्धित क्रियाकलापहरुमा गरेको खर्च अनमोदन गर्ने विशेष प्रस्ताव पेश गर्ने जनाएको छ ।

त्यस्तै साधारण प्रस्तावमा सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफारनोक्सान हिसाब तथा नगद प्रवाह लगायत वितिय विवरण पारित गर्ने, कम्पनीको लेखापरीक्षण कार्यको लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिको सिफारिस बमोजिम आ.व. २०७७/७८ को लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने, सञ्चालकको पारिश्रमिक, भत्ता तथा अन्य सुविधाहरु पारित गर्ने लगायतका प्रस्ताव पेश गर्ने जनाएको छ।

दुर संचार सेवा प्रदायक कम्पनी अनिवार्य रुपमा पब्लिक कम्पनीमा जानु पर्ने बाध्यकारी व्यवस्था अनुसार एनसेल २ वर्ष अगाडी पब्लिक कम्पनीमा रुपान्तरण भएको हो । पब्लिक कम्पनीको रुपमा रुपान्तरण भएसँगै अब सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने बाटो खुलेको छ ।