जनता टाइम्स

६ कार्तिक २०७८, शनिबार ०८:५९

खेर गयो दैनिक ४ सय मेगावाट विजुली, बिद्युत प्राधिकरणलाई मासिक साढे दुई अर्ब रुपैयाँ घाटा


काठमाडौं, कात्तिक ६ । नेपाल बिद्युत प्राधिकरणले ठोश योजना बनाउन नसक्दा दैनिक ४ सय मेगावाट विद्युत् त्यसै खेर गइरहेको छ। खेर गएको बिजुलीबाट प्राधिकरणले मासिक झन्डै साढे दुई अर्ब रुपैयाँ घाटा बेहोरिरहेको छ। तर, विद्युत् प्राधिकरणसँग खेर गइरहेको विद्युतलाई प्रयोगमा ल्याउने ठोस योजना नै छैन।

साउन, भदौ र असोजमा रातको समय दैनिक ३ सय ५० देखि ४ सय मेगावाटसम्म (करिब साढे ७ अर्ब रुपैयाँ बराबर) विद्युत् खेर गइरहेको नेपाल विद्युत् प्राधिकरणले बताएको छ। विद्युतको उत्पादन बढे पनि आन्तरिक बजारमा खपतको मात्रा बढ्न सकेको छैन। बाह्य बजारमा निर्यात पनि हुन सकेको छैन। गत साउनबाट ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना राष्ट्रिय प्रसारणमा जोडिएको थियो।

हाल १ हजार ९ सय ७ मेगावाट विद्युत् उत्पादन भइरहेको छ। तर, खपत भने १ हजार ४ सय मेगावाटको हाराहारीमा मात्रै रहेको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिनुभयो। केही दिन यताको बाढी र पहिरोका कारण १ सय ५० मेगावाट विद्युत् भने राष्ट्रिय प्रसारणबाट विच्छेद भएको छ। साँझको समयमा विद्युत धेरै माग हुन्छ। रातको समयमा भने ८ सय मेगावाट मात्र माग हुने गरेको छ। यस कारण रातिको समयमा धेरै बिजुली खेर गइरहेको प्राधिकरण बताउँछ।

प्राधिकरणले आन्तरिक खपत बढाउने र भारतमा निर्यात गर्ने योजनालाई पूर्णरूपमा कार्यान्वयन गर्न नसक्दा बिजुली खेर बिज्ञहरुको भनाई छ । ३ वर्षअघिदेखि नै उत्पादित विद्युत् खेर जानसक्ने भन्दै निजी ऊर्जा प्रवद्र्धकहरूले सचेत गराउँदै आएका थिए। तर, प्राधिकरणले वास्ता नगर्दा अहिले समस्या देखा परेको गर्ग बताउँछन्।

प्राधिकरणले भारतको विहारमा केही बिजुली निर्यात गरिरहेको छ। विहार सरकारले दैनिक २ सयदेखि २ सय ५० मेगावाटसम्म विद्युत् किनिरहेको छ ।