जनता टाइम्स

७ कार्तिक २०७८, आईतवार १६:१५

झापाबाट लेखराज भट्टको गर्जन : केपी ओली जस्तो राष्ट्रवादी नेतासँग भेटाइदिएकोमा प्रचण्डलाई धन्यवाद


झापा, कात्तिक ७ । एमाले स्थायी कमिटी सदस्य लेखराज भट्टले नयाँ एमाले बनाएर अघि बढ्ने बताउनु भएको छ । अध्यक्ष केपी ओलीसँग झापा भ्रमणमा आउनु भएका माओवादीका पूर्वनेता समेत रहेका भट्टले केपी ओली जस्तो सँग भेटाइदिएकोमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धन्यवादसमेत दिए ।

नेता भट्टले अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रवादी छविले आफूलाई आकर्षित गरेको पनि बताउनु भयो । कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नयाँ नक्सा जारी गर्ने आँट गरेकाले आफू ओलीसँग प्रभावित भएको पनि उहाँले बताउनुभयो । उहाँले अर्को कुनै प्रधानमन्त्री भएको भए त्यो आँट गर्न नसक्नेसमेत उल्लेख गर्नुभयो ।

पूर्वमाओवादी नेता भट्टले प्रचण्ड नाम एकता, संघर्ष र विश्वंस भएको उल्लेख गर्दै प्रचण्डले कहिल्यै पार्टी र मुलुक नबनाउने ठोकुवासमेत गर्नुभयो । ‘मान्छे मरिहेका छन्, सुदूरपश्चिम डुबानमा छ तर उहाँ जिपलाइनमा रमाइलो गरेर बसिरहनुभएको छ,’ भट्टले प्रश्न गर्नुभयो ‘जनयुद्ध त्यसैका लागि गरेको हो ?’

सुदूरपश्चिमलाई सुदूरपूर्वसँग जोड्ने अवसर दिएकोमा धन्यवाद दिनुभएका भट्टले सुदूरपश्चिममा बाढीपहिरोबाट पीडित भएकाप्रति सरकार राज्य गम्भीर बन्न नसकेको बताउनु भयो । साथै उहाँले जयसिंह धामी प्रकरणमा पनि सरकार गम्भीर बन्न नसकेको भन्दै कडा आक्रोश पोख्नुभयो ।