जनता टाइम्स

७ कार्तिक २०७८, आईतवार १९:२९

कांग्रेसी नेताको गयो पद, चार वर्षपछि उल्टियो नतिजा


जनकपुरधाम, कात्तिक ७ । अदालतको आदेशमा चार वर्षपछि महोत्तरीको मनरासिस्वा नगरपालिका–१० को वडामा भएको स्थानीय तह निर्वाचन २०७४ को मतगणनामा मतपरिणाम उल्टिएको छ । उच्च अदालत जनकपुरधाम र सर्वोच्च अदालतले आज दिएको आदेश बमोजिम महोत्तरीको मनरासिस्वा नगरपालिका–१० को पुनः मतगणना हुँदा पहिले पराजित हुनुभएका स्वतन्त्र उम्मेदवार रमेशकुमार राय विजयी हुनुभएको हो ।

यसअघि निर्वाचन आयोगले यस वडामा नेपाली कांग्रेसका उम्मेदवार अरुण चौधरी विजयी भएको घोषणा गरेको थियो । तर आज भएको पुनः मतगणनामा स्वतन्त्र उम्मेदवार रमेश राय विजयी हुनुभएको हो । चार वर्षअघि स्थानीय तहको निर्वाचनका क्रममा दुबै उम्मेदवारले २६७ मत ल्याएको भन्दै निर्वाचन आयोगले गोला प्रथाबाट चौधरी निर्वाचित भएको घोषणा गरेको थियो ।

तर पुनः मतगणनाको माग गर्दै स्वतन्त्र उम्मेदवार रमेश रायले उच्च अदालत जनकपुरधाममा मुद्दा दिनुभएको थियो । उच्च अदालतले २१ असार २०७५ मा पुनः मतगणना गर्ने आदेश दिएपनि निर्वाचित भएका चौधरीले यो निर्णयविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिनुभएको थियो । सर्वोच्चको ६ चैत २०७७ को आदेशबाट उच्च अदालतको आदेश सदर गरेको थियो ।

सर्वोच्चको आदेश अनुसार पुनः गणना हुँदा पहिला भएको गणना भन्दा फरक नतिजा आएको देखिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख दिवाकर भुजेलले जानकारी दिनुभयो । उच्च अदालतका रजिष्ट्रार र आफ्नो उपस्थितिमा भएको पुनः गणनामा नेपाली कांग्रेसका उम्मेदवार चौधरीले २६६ र पराजित भएका रायले २६८ मत पाएको देखिएको भुजेलले बताउनुभयो । अब पुनः गणनाको परिणाम न्यायाधीश समक्ष पेश हुने र त्यसपछि पद परिवर्तनको आदेश त्यहींबाट आउने भुजेलले बताउनुभयो ।