जनता टाइम्स

९ कार्तिक २०७८, मंगलवार ०९:४९

नेकपा एस निकट युवा संघका केन्द्रीय सचिव एमालेमै फर्किए


दैलेख, कार्तिक ९ । दैलेखमा पछिल्ला केहि दिनयता दैलेखमा नेकपा एस रोजेका नेता कार्यकर्ता धमाधम एमालेमै फर्किन थालेका छन् । नेकपा एस निकट युवा संघका केन्द्रीय सचिवको रुपमा कार्यरत भैरवी गाउँपालकिाका उपेन्द्र शाही एमालेमा फर्किनुभएको छ । पार्टी विभाजनको समयमा हुलमुलमा परेका कारण अर्को पार्टीमा लागे पनि माधव नेपालको भित्री राजनीति बुझेपछि मूल पार्टीमा फर्किएको र संगठित सदस्यता नवीकरण गरेको उहाँले बताउनुभयो ।

यस्तै, समाजवादीको आठबीस नगर कमिटिका अध्यक्ष छत्र माझी एमालेमै फर्किनुभएको छ । उहाँले विज्ञप्ती जारी गर्दै समाजवादी पार्टीको नेतृत्वमा वर्गीय आन्दोलन सफल नहुने भएकाले मूल घरमै फर्किएको बताउनुभएको थियो । भैरवी गाउँ कमिटिको सचिव पदमा मनोनित भएका तिलक प्रसाद जैसीले पनि साजवादी त्यागेर एमालेमा समाहित भएको बताउनुभएको छ ।

उहाँले पनि एक विज्ञप्ती जारी गर्दै आफू राजनीतिक कारणले पार्टी विभाजनको समयमा समाजवादीमा लागेको बताउँदै आगामी दिनमा एमालेको पूर्ववत जिम्मेवारीमा फर्कदै काम गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ । साविक भैरवी गाविस वडा नं. एकबाट एमालेको उम्मेदवार बनेर २०५४ सालमा वडाध्यक्ष जितेका राजाराम जैसीले पनि मूलघरै फर्किएको भनेर विज्ञप्ती जारी गर्नुभएको छ । दैलेखमा एमालेमा समाजवादीमा गएका मात्रै नभएर माओवादी र जनमोर्चाबाट पनि एमालेमा प्रवेश गर्नेहरुको ठूूलो संख्या रहेको छ ।