जनता टाइम्स

११ कार्तिक २०७८, बिहीबार १०:१७

बागमतीको मुख्यमन्त्री बन्दै राजेन्द्र पाण्डे, यी हुन सम्भावित मन्त्री


मकवानपुर, कात्तिक ११ । एकीकृत समाजवादीका उपाध्यक्ष एवं संसदीय दलका नेता राजेन्द्र पाण्डे आज बागमती प्रदेशको मुख्यमन्त्री बन्दै हुनुहुन्छ । एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बुधबार प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई राजीनामा बुझाएसँगै गठबन्धनले पाण्डेलाई मुख्यमन्त्रीमा दाबी पेस गरेको छ । गठबन्धनले पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न दाबी गर्दै ५९ जनाको हस्ताक्षर हिजै साँझ बुझाइ सकेको छ ।

प्रदेश प्रमुखको कार्यालयले पनि आज दिउँसो ३ बजेभित्र मुख्यमन्त्रीमा दाबी गर्न समय दिएको छ । बागमती प्रदेशसभामा रहेका १०९ सांसदमध्ये सरकार बनाउन ५५ जना आवश्यक पर्छ । पाण्डेलाई आफ्नै पार्टी एकीकृत समाजवादीको १३, नेकपा माओवादी केन्द्रका २३, कांग्रेसको २२ र जसपाको १ गरी ५९ जना सांसदको समर्थन छ । एमालेमा भने पार्टी विभाजनपछि अहिले जम्मा ४३ जना सांसद छन् । मुख्यमन्त्रीमा पाण्डे आज दिउँसो ३ बजेपछि नियुक्त हुने सम्भावना रहेको छ ।

को को बन्लान् मन्त्री ?

मुख्यमन्त्रीमा पाण्डेको नियुक्ति हुने तयारी भइरहँदा गठबन्धनबाट नयाँ बन्ने सम्भावित मन्त्रीको नामबारे चर्चा भइरहेको छ । सम्भावित नाममा नेकपा माओवादी केन्द्रकी कुमारी मोक्तान, नेपाली काँग्रेसका कृष्ण भँडेल र नेकपा एकीकृत समाजवादीका कृष्ण खनाल हुनुहुन्छ ।

चर्चामा आए अनुसार माओवादी केन्द्रकी मोक्तानले आन्तरिक तथा मामिला मन्त्रालय पाउने सम्भावना छ । यो मन्त्रालय माओवादी केन्द्रले लिने सहमति बनेमा पूर्वमन्त्री शालिकराम जम्मकट्टेल नै सरकारमा सहभागी हुने पनि स्रोतको भनाइ छ ।

अर्थ मन्त्रालय कांग्रेसका भँडेलले पाउने चर्चा छ भने एकीकृत समाजवादीका खनालले सामाजिक विकास मन्त्रालय पाउने सम्भावना रहेको स्रोत बताउँछ । तर मन्त्रालय भागबन्डाका विषयमा गठबन्धनको बैठक बसिरहेकाले टुंगो भने अझै लाग्न बाँकी रहेको छ ।