जनता टाइम्स

१२ कार्तिक २०७८, शुक्रबार १३:०३

मध्य भोटेकोशीको आईपिओ बाँडफाँड, यसरी हेर्न सकिन्छ नतिजा


काठमाडौं, कात्तिक १२ । मध्य भोटेकोशी जलविद्युत कम्पनीले सर्बसाधारणलाई निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज बिहान नक्साल स्थित क्यापिटल कै कार्यालयमा शेयर बाँडफाँड गरेको हो । आईपिओमा कुल २३ लाख ९० हजार २ सय १८ जनाको आवेदन परेकोमा ९५ हजार ७ सय २२ जनाको आवेदन रद्द भएको छ । योग्य आवेदकको संख्या २२ लाख ९४ हजार ४ सय ९६ जना रहेको क्यापिटलले जनाएको छ ।

माग भन्दा बढीको आवेदन परेकोले आईपिओ गोलाप्रथाबाट बाँडफांड भएको छ । यस हिसाबमा गोलाप्रथाबाट ८ लाख १९ हजार जना आवेदकले १० कित्ताको दरले यो आईपिओ पाएका छन् । आवेदक दिएका मध्ये १५ लाख ७१ हजार २ सय १८ जना आवेदक भने हात खाली भएका छन् । कम्पनीले सर्बसाधारणलाई ९० लाख कित्ता शेयर निष्काशन गरेको हो ।

९० लाख कित्ता मध्ये ३ लाख ६० हजार कित्ता अर्थात सर्वसाधारणमा निष्काशन हुने शेयरको ४ प्रतिशत शेयर कम्पनीका कर्मचारीहरुलाई छुट्याईएको थियो । त्यस्तै ४ लाख ५० हजार कित्ता अर्थात सर्वसाधारणमा निष्कासन हुने शेयरको ५ प्रतिशत शेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको थियो। बाँकी रहेको ८१ लाख ९० हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

आईपिओको नतिजा विभिन्न ९ तरिकाबाट हेर्न सकिने

जसअनुसार मध्य भोटेकोशीको वेबसाइट http://mbjcl.com.np/site/index.php, बिकी प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको वेबसाइट https://www.globalimecapital.com/, सह बिक्रि प्रबन्धकहरु प्रभु क्यापिटलको वेबसाइट https://www.prabhucapital.com/, एनआईबिएल एस क्यापिटलको वेबसाइट  https://niblcapital.com/, सिभिल क्यापिटलको वेबसाइट https://www.civilcapitalmarket.com/, लक्ष्मी क्यापिटलको वेबसाइट https://laxmicapital.com.np/, सानिमा क्यापिटलको वेबसाइट https://www.sanima.capital/, सीबीआईएल क्यापिटलको वेबसाइट https://www.cbilcapital.com/, सीडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login र सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट  https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।

मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ । दिउँसोसम्ममा नतिजा प्रकाशित हुने बिक्रि प्रबन्धकले जनाएको छ । कम्पनीले यसअघि नै सिन्धुपाल्चोकका स्थानीय, संचय कोषका संचयकर्ता, कम्पनीको संस्थापक कम्पनीका कर्मचारी, र ऋणदाता कम्पनीका कर्मचारीको लागि शेयर निष्काशन गरि बाँडफांड समेत गरिसकेको छ। उनीहरुले सर्बसाधारणलाई निष्काशन हुने शेयरमा आवेदन दिन नपाउने व्यवस्था गरिएको थियो । यदि आवेदन दिएको भए रद्द भएको छ ।