जनता टाइम्स

१३ कार्तिक २०७८, शनिबार ०७:५९

पहिरोले अवरुद्ध बेसीसहर–चामे सडक सूचारु


लमजुङ, १३ कात्तिक । बेमौसमी वर्षापछिको पहिरोले अवरुद्ध बेसीसहर–चामे सडक सूचारु भएको छ । २ कात्तिकमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियोे । तिमाङ झरनामा पुल निर्माण भएपछि मनाङभर सडक सुचारु भएको छ । तिमाङ झरनाको पुल मर्मत सम्पन्न भएसँगै बेसीसहर–चामे–खाङसार सडक पूर्णरूपमा सुचारू भएको जिल्ला प्रसाशन कार्यालय मनाङले जनएको छ ।

बाढीपहिरोले क्षति पुर्याएको ठाउँमा मर्मत गर्नुका साथै खोला तथा खोल्सीमा अस्थायी काठेपुल निर्माण गरी आउजाउलाई सहज बनाएको प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले बताउनुभयो । उहाँका अनुसार जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय जनप्रतिनिधिले बाटो खुलाउन भूमिका निर्वाह गरेका थिए ।

अहिले माथिल्लो मनाङमा नेपालको जुनसुकै ठाउँबाट सीधै आउन सकिन्छ । बाढीपहिरोले चामे गाउँपालिकाको कोतो नजिकैको भीर, थान्चोक र तिमाङबीचको खोला, स्याल्क्युखोलाको अस्थायी काठे पुल, तिमाङखोला, बगरछाप एक्लेभट्टि, खोत्रो, निगालाघारी लगाायत १२ ठाउँमा क्षति पुर्याएको थियो ।

प्रजिअ आचार्यका अनुसार भ्राताङभीर साथै भ्राताङ र तलेखुबीचको सडकमा विस्फोटक पदार्थ प्रयोग गरी सडक मर्मत गरिएको थियो । सडक मर्मत गरिएपछि बेसीसहरदेखि मनाङ जाने सडक खुलेको डुम्रे–बेसीसहर–चामे सडक योजनाका प्रमुख इन्जिनियर अच्युतविलास पन्तले बताउनुभयो । ६५ किलोमिटरको बेसीसहर–चामे सडक लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर पर्छ ।