जनता टाइम्स

१६ कार्तिक २०७८, मंगलवार २०:४४

आजका १० महत्वपूर्ण खबर : प्रदेश १ मा राई, कर्णालीमा शाही, सुरु भयो प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाई


राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त : प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त हुनुभएको छ । नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राईलाई आज प्रदेश प्रमुख सोमनाथ अधिकारी ’प्यासी’ले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

सोमबार भीम आचार्यले प्रदेश १ को मुख्यमन्त्रीबाट राजीनामा दिनुभएको थियो । सोही दिन गठबन्धनको तर्फबाट राईले प्रदेशसभाका ४९ जना सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गर्नुभएको हो । मंगलबार प्रदेश प्रमुख अधिकारीले राईलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको छ । मुख्यमन्त्री राईले ६ सदस्यीय मन्त्रिपरिषद गठन गर्नुभएको छ ।

कर्णालीको मुख्यमन्त्रीमा जीवनबहादुर शाहीले गरे दाबी पेस

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले दाबी पेस गर्नुभएको छ । शाहीले मंगलबार कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी समक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गर्नुभएको हो । सत्तारुढ गठबन्धन, माओवादी केन्द्रबाट १२ जना, कांग्रेसबाट छ जना, एकीकृत समाजवादीबाट तीन जना गरी २१ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीको दाबी पेस गर्न शाही प्रदेश प्रमुखको कार्यालय पुग्नुभएको छ । यसअघिका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हिजो १५ कात्तिकमा पदबाट राजीनामा दिनुभएको थियो । उक्त राजीनामा स्वीकृत भएसँगै नयाँ सरकार गठनका लागि कलौनीले सोमबार नै मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरिएको हो ।

छानविन समितिले पक्राउ गर्न सिफारिस गरेका पूर्वसांसद गृह मन्त्रालयमै

निर्मला कुर्मी बेपत्ता प्रकरण छानविन समितिले पक्राउ गर्न सिफारिस गरेका पूर्वसांसद गृह मन्त्रालयमै भेटिएका छन् । बाँकेका दुई महिलाको शंकास्पद मृत्युबारे छानविन गर्न गठित टोली आइतबार प्रतिवेदन बुझाउन गृह मन्त्रालय पुग्दा पूर्वसांसद बादशाह कुर्मी त्यहीँ थिए । कुर्मी उनै हुन्, जसलाई छिमेकी निर्मला कुर्मीको सम्पत्ति हडपेर बेपत्ता पारेको आरोप लागेको छ ।

कुर्मी र नन्कुन्नी धोबीको शंकास्पद मृत्युको गहिरो अनुसन्धानको माग गर्दै नेपालगंजबाट २० दिन पैदल हिँडेर काठमाडौं आएका महिला अधिकारकर्मी र पीडित परिवारको धर्ना रअनशनपछि गृह मन्त्रालयले २ कात्तिकमा छानविन समिति गठन गरेको थियो । सहसचिव हिरालाल रेग्मी संयोजक रहेको सो समितिलाई सात दिनभित्र छानविन प्रतिवेदन बुझाउन म्याद दिइएको थियो । ५ कात्तिकदेखि बाँके पुगेर छानविन गरेको टोलीले आइतबार प्रतिवेदन बुझाएको हो ।

प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । विश्व जलवायु सम्मेलन (कोप– २६) मा सहभागी हुन स्कटल्याण्डको ग्लास्गो पुगेका बेला उनीहरूबीच भेटवार्ता भएको हो ।

दक्षिण अफ्रिकाविरुद्ध बंगलादेश ८४ रनमै अलआउट

यूएईमा जारी टी– २० विश्वकपको सुपर– १२ मा बंगलादेशले दक्षिण अफ्रिकालाई ८५ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले १८.२ ओभरमा अलआउट हुँदै ८४ रन बनायो । उसका लागि मेहदी हसनले २७, लिटन दासले २४ र शमिम हुसेनले ११ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । उसका चार खेलाडी शून्य रनमा आउट भए ।

दक्षिण अफ्रिका सेमिफाइनलमा पुग्ने लक्ष्यमा छ । पहिलो खेलमा अस्ट्रेलियासँगको हारपछि दक्षिण अफ्रिकाले उत्कृष्ट पुनरागमन गरेको छ ।दक्षिण अफ्रिकी टोलीले पछिल्ला दुई खेलमा लगातार जीत निकालेको छ। बंगलादेशविरुद्ध आज जीत निकाल्दै सेमिफाइनलमा पुग्ने संभावनालाई थप बलियो बनाउन चाहन्छ ।

नेपालले पायो विद्युत् निर्यातको अनुमति, पहिलो चरणमा ३९ मेगावाट भारत निर्यात हुँदै

नेपाललले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा विद्युत् बिक्रीको अनुमति पाएको छ । भारतको विद्युत् मन्त्रालयको सहमतिमा अन्तरदेशीय विद्युत् व्यापारका लागि स्वीकृति दिने निकायले सोमबार नेपाल विद्युत् प्राधिकरणलाई भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा विद्युत् बिक्री गर्न अनुमति दिएको छ ।

पहिलो चरणमा प्राधिकरणको स्वामित्वमा नुवाकोटमा संचालनमा रहेका २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट विद्युत् गृहबाट उत्पादित ३९ मेगावाट विद्युत् भारतीय ऊर्जा एक्सचेन्जमा बिक्री गर्न अनुमति दिइएको हो ।

दुई विद्युत्गृहबाट उत्पादित विद्युत्लाई स्रोत मानी भारतीय बजारमा बिक्रीका लागि अनुमति दिइएको छ । प्राधिकरणले मंगलबार राति १२ बजेदेखि ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत विद्युत् निर्यात सुरु गर्नेछ । हाल यो लाइनबाट विद्युत् आयात मात्र भइरहेको छ । निर्यातको अनुमति पाएसँगै नेपाल र भारतबीचको विद्युत् व्यापार नयाँ चरणमा प्रवेश गरेको छ ।

प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया सुरु

भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया मंगलबार सुरु भएको छ । संसदीय सुनुवाइ विशेष समितिको सिंहदरबारमा बसेको बैठकले भारतका लागि प्रस्तावित राजदूत डा. शंकर शर्मा, अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्री र बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्यविरुद्ध १० दिने उजुरी आह्वान गरेको हो ।

गत कात्तिक ११ गते बसेको मन्त्रिपरिषद् बैठकले राजदूत नियुक्त गर्न सिफारिस गरेका राजदूतहरूविरुद्ध उजुरी आह्वान गरिएको छ । प्रस्तावित राजदूतहरूविरुद्ध उजुरी दिन आह्वान गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

उहाँले उजुरीको सूचना भोलि बुधबार सरकारी संचार माध्यमबाट प्रकाशित गरी नागरिकलाई जानकारी दिन समितिका सचिवलाई निर्देशनसमेत दिनुभयो ।

प्रस्तावित राजदूतविरुद्ध १० दिनभित्र परेको उजुरीमाथि छलफल गरेपछि समितिले उनीहरूको नाम अनुमोदन गर्ने वा नगर्ने निर्णय गर्नेछ ।

नेपाल यू– २३ टोली भोलि स्वदेश फर्कने

एएफसी यू– २३ एसियन कप छनोट प्रतियोगितामा सहभागी जनाएको नेपाली टोली भोलि (बुधबार) नेपाल फर्कने भएको छ । छनोट प्रतियोगितामा तीन खेल खेलेको नेपाली टोली बुधबार साँझ ६ः३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झर्ने कार्यक्रम रहेको टिम व्यवस्थापक उत्तम न्यौपानेले जानकारी गराउनभयो ।

प्रतियोगितामा नेपालले तीन खेल खेलेको थियो । नेपाल तीनवटै खेलमा जीतविहीन र गोलविहीन रह्यो । पहिलो खेलमा बलियो इरानविरुद्ध ४–० गोल अन्तरले पराजित नेपाल दोस्रो खेलमा आयोजक ताजकिस्तानसँग ६–० गोल अन्तरले पराजित भएको थियो । अन्तिम खेलमा भने नेपाल लेबनानसँग ४–० गोल अन्तरले नै पराजित भयो ।

अन्तिम खेलमा आयोजक ताजस्कितानलाई पराजित गर्दै इरान समूह ‘बी’को विजेताको रूपमा फाइनल चरणमा स्थान बनायो । समूह ‘बी’मा ९ अंकसहित अपराजित इरान शीर्ष स्थानमा रह्यो । एक खेलमा पराजित ताजकिस्तान ६ अंकसहित दोस्रो स्थानमा रहँदा तीन खेलमा एक खेल जितेको लेबनान तेस्रो स्थानमा रह्यो । यता, नेपालले तीन खेलमा जीतविहीन र गोलविहीन रहँदा १४ गोल व्यहोर्दै तालिकाको पुछारमा रह्यो ।

यस प्रतियोगितामा नेपाल लगातार तेस्रो संस्करण गोलविहीन भएको हो । यसअघिका दुई संस्करणमा समेत नेपाल गोलविहीन रहँदै आएको थियो ।

टी– २० विश्वकपबाट तीन विश्व च्याम्पियन टिम बाहिर !

टी– २० विश्वकप २०२१ को उपाधि जित्ने लक्ष्यका साथ सबै टोली युएईमा छन् । अहिलेसम्म करिब आधा प्रतियोगिता सकिएको छ । इंग्ल्यान्ड सेमिफाइनलमा पुगिसकेको छ भने पाकिस्तान पनि लगभग सेमिफाइनलमा पुग्ने चरणमा छ ।

पाकिस्तान समूह २ को शीर्ष स्थानमा रहँदा इंग्ल्यान्ड समूह १ को शीर्ष स्थानमा छ । तर, तीन पूर्व टी– २० विश्वकप च्याम्पियन टोली अहिलेको विश्वकपबाट बाहिरिने संघारमा छन् । ती टोलीहरू हुन्, भारत, श्रीलंका र वेस्ट इन्डिज ।

२०२१ को टी–२० विश्वकप भारतीय टोलीका लागि दुखद रह्यो। भारतलाई उपाधि दाबेदार टिमका रूपमा हेरिए पनि उसको प्रदर्शन भने सम्झनलायक रहेको छैन। आफ्नो पहिलो खेलमा पाकिस्तानसँग १० विकेटको नमिठो हार बेहोरेको थियो।

यस्तै दोस्रो खेलमा न्युजिल्यान्डसँग ८ विकेटले पराजित भयो। भारतको सेमिफाइनल यात्रा लगभग समाप्त भएको छ। यदि भारतले सेमिफाइनलमा पुग्ने आशा जीवित राख्ने हो भने उसले आफ्ना बाँकी तीन खेल ठूलो अन्तरले जित्नुपर्नेछ।

चारमध्ये तीन खेलमा हार बेहोरेर टी– २० विश्वकपबाट बाहिरिएको टोली हो श्रीलंका । श्रीलंकाले छनोट चरणका सबै तीन खेल जितेको थियो । तर, सुपर– १२ मा भने आफ्नो प्रदर्शनलाई निरन्तरता दिन सकेन ।

वेस्ट इन्डिजले अहिलेसम्म तीनमध्ये एउटा मात्र खेल जितेको छ । उसलाई सेमिफाइनल पुग्न पनि कठिन छ । वेस्ट इन्डिजले सन् २०१२ र सन् २०१६ मा दुई पटक टी– २० विश्वकपको उपाधि जितेको थियो । तर, यसपालि राम्रो प्रदर्शन गर्न सकेको छैन ।

इंग्ल्यान्ड र पाकिस्तान फाइनल भिड्ने संभावना

टी– २० विश्वकप २०२१ मा अहिलेसम्म इंग्ल्यान्ड मात्र सेमिफाइनलमा पुगेको छ । टोलीले अहिलेसम्म खेलेका चारवटै खेल जितेको छ । जोस बटलरको शतकको मद्दतले इंग्ल्यान्डले श्रीलंकालाई सोमबार २६ रनले पराजित गरेको हो ।

इंग्ल्यान्डले सन् २०१० मा टी–२० विश्वकपको उपाधि जितेको थियो । जारी विश्वकपमा इंग्लिस टोली लयमा छ । बलर र ब्याट्सम्यानले राम्रो प्रदर्शन गरिरहेका छन् । पाकिस्तानले आफ्ना तीनवटै खेल जितेको छ र यो टोली समूहको शीर्ष स्थानमा छ । पाकिस्तानको बलिङ दमदार फर्ममा छ ।