काठमाडौं, कात्तिक १८ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई पारित गर्ने पत्र पठाएको तथ्य खुलेको छ । प्रधानमन्त्री देउवा स्वयंले यस्तो तथ्य खोल्नुभएको हो ।
माओवादी अध्यक्ष प्रचण्डले बाहिर सार्वजनिक खपतका लागि एमसीसीको बिरोध गरेको नाटक पनि देउवाको यो घनाईसँगै उदांगो बनेको छ । स्कटल्यान्डको ग्लास्गोमा जारी कोप–२६ मा सहभागिता जनाएर नेपाल फर्कनु भएका प्रधानमन्त्री देउवाले बिमानस्थलमै यस्तो खुलासा गर्नुभयो । उहाँले भन्नुभयो, ‘ प्रचण्डजी र मैले एमसीसी पास गराउछौँ भनेर पत्र पठाइसकेका छौं ।’
एमसीसीकी उपप्रमुख कार्यकारी अधिकृत एलेक्सिया ल्याटोर्तुले आफूसँग एमसीसी संसदबाट अनुमोदनको बारेमा कुरा राखेको र आफूले त्यसलाई सत्ता गठबन्धनसँग मिलेर अघि बढाउने जानकारी दिएको पनि प्रधानमन्त्री देउवाले बताउनु भयो । उहाँले एमसीसीकी ल्याटोर्तुलाई आफूहरुले सम्झौता कार्यान्वयन गर्ने सम्बन्धमा प्रतिबद्धता गरिसकेको उल्लेख गर्दै अहिलेको संसद् अधिवेशन अन्त्य अर्कै कारणले गरिएको बताउनु भयो । देउवाले आफूले एमसीसी सम्झौताको सम्बन्धमा नभएर अध्यादेश जारी गर्नका लागि भएको जानकारी दिएको पनि प्रस्ट पार्नुभयो ।
नेपालमा संसद्बाट एमसीसी सम्झौतालाई अनुमोदन गर्ने सम्बन्धमा सत्ता गठबन्धन दलहरूबीचमा एकमत नरहँदा कठिनाइ भइरहेको छ । प्रधानमन्त्री देउवाले एमसीसी नेपालको हितमा भएको बताउँदै यसमा विवाद गर्नु नपर्ने अडान राख्नुभयो । अमेरिकाले भने एमसीसीसँगको सम्झौताका विषयमा नेपालमा कार्यान्वयनमा लानको लागि संसदबाट आवश्यक अनुमोदन हालसम्म पनि नभएपछि असन्तुष्टि व्यक्त गरिरहेको छ । संसद्को अधिवेशन कात्तिक १२ गते अन्त्य भएकै दिन एमसीसी सम्झौता अनुमोदन नभएकोमा अमेरिकाले असन्तुष्टि जनाएको थियो ।
संसद् अधिवेशन अन्त्य गरिएकै दिन वासिङ्टन डीसीस्थित एमसीसी मुख्यालयले विज्ञप्ति जारी गर्दै सम्झौतालाई अगाडि बढाउने वा नबढाउने निर्णय अब नेपालमै रहेको उल्लेख गरेको थियो ।













प्रतिक्रिया दिनुहोस्