जनता टाइम्स

२२ कार्तिक २०७८, सोमबार ११:२९

तिहार लगत्तै सुनको भाउमा भारी वृद्धि, आज तोलाको कतिमा हुँदैछ कारोबार ?


काठमाडौं, कात्तिक २२ । तिहारपछि पहिलो पटक आज सुनको भाउ ह्वात्तै बढेको छ । लक्ष्मी पूजाको दिन अर्थात् कार्तिक १८ गते बिहिबारको तुलनामा सुनको भाउ आज तोलामा १५ सय रुपैयाँले बढेको हो । लक्ष्मी पूजाको दिनपछि तिहारको अवधिभरी सुनको नयाँ भाउ तोकिएको थिएन । तिहारपछि पहिलोपटक तोकिएको सुनको भाउ तोलामा १५ सयले बढेको हो ।

गत बिहिबार तोलाको ९१ हजारमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १५ सय रुपैयाँले बढेर तोलाको ९२ हजार ५ सय पुगेको छ । तेजाबी सुनको भाउ पनि आज तोलामा १५ सयले नै बढेर ९२ हजार पुगेको छ ।

आज चाँदीको भाउ पनि तोलामा एकैपटक २५ रुपैयाँले बढेर तोलाको १२ सय ५० रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार ३०५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७८ हजार ८७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ७१ रुपैयाँ ५० पैसा कायम गरेको छ ।