काठमाडौं, २३ कार्तिक । माओवादीले २०५८ मंसिर ८ गते घोराहीस्थित नेपाली सेनाको रिपुमर्दन गणमा आक्रमण गरेको थियो। आक्रमणपछि माओवादीले नेपाली सेनाका हातहतियार, बन्दोबस्तीका सामान र घाइतेलाई ओसार्न दुइटा बस प्रयोग गरेका थिए। उक्त बस थिए तत्काललीन राप्ती बस सार्वजनिक व्यवसायी समिति केन्द्रीय कार्यालय तुलसीपुर दाङ र हालको त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिका संरक्षक रहेका घोराही उपमहानगरपालिका वडा नम्बर ४ का भरतनाथ योगीका ।
माओवादीलाई सघाएको आरोपमा सेनाले योगीका बस नियन्त्रणमा लिएको थियो।नेपाली सेनाले योगीका बस दुई वर्ष बढी समयसम्म नियन्त्रणमा लिएर प्रयोग गरे पनि कुनै क्षतिपूर्ति दिएको थिएन।सेनाले आफ्नो सम्पत्ति कब्जामा राखेपनि क्षतिपूर्ति नदिएको भन्दै योगीले सर्वोच्च अदालतमा निवेदन दिनुभएको थियो । योगीले दिएको मुद्दामाथि फैसला गर्दै सर्वोच्च अदालतले योगीलाई क्षतिपूर्ति वापतको रकम एक करोड चार लाख ९७ हजार ८ सय ६६ रूपैयाँ उपलब्ध गराउन सिफारिस गर्न जिल्ला प्रशासन कार्यालय दाङको नाममा र रकम उपलब्ध गराउन सरकारको नाममा उत्प्रेषणयुक्त परमादेश जारी गरेको छ।
आफूले ढिलै भए पनि न्याय पाएको योगी बताउनुहुन्छ । ‘देशमा न्याय मरेको छैन भन्ने लागेको छ,’ उहाँले भन्नुभयो ‘ढिलै भए पनि मैले न्याय पाउँछु भन्ने आशा त थियो।’उहाँले यसअघि धेरैपटक क्षतिपूर्तिका लागि सरकार र सेनासँग अनुरोध पनि गर्नुभएको थियो । उहाँले माओवादीसँग पनि क्षतिपूर्तिका लागि पहल गर्न अनुरोध गर्नुभएको थियो ।
तर उहाँ २० वर्षपछि न्याय पाउनुभएको छ । योगीको पक्षबाट अधिवक्ता भिमार्जुन आचार्यले बहस गर्नुभएको थियो । योगीका बसहरू सेनाकै सवारी साधनजस्तै देखिने गरी९पेन्टिङ० गरिएका थिए। ती बस रोल्पा क्षेत्रमा सञ्चालन हुँदै आएका थिए।सेनाले माओवादी र उनीहरूका बन्दोबस्तीका सामान ओसारपसारमा प्रयोग भएको भन्दै योगीका ना २ ख २४४३, ना २ ख ५३८३, रा १ ख २८१ नम्बरका तीन वटा बस र बा ३ च ७५६१ नम्बरको बोलेरो जीप झण्डै दुई वर्ष नियन्त्रणमा लिएर आफैँ चलाएको थियो।सेनाले ०५८ मंसिर ८ गते नियन्त्रणमा लिएका ती गाडीहरु २०६० भदौ १० गतेसम्म आफ्नै नियन्त्रणमा राखेर सञ्चालन गरेको थियो। पछि ती गाडी सेनाले योगीलाई नै बुझाएको थियो।













प्रतिक्रिया दिनुहोस्