जनता टाइम्स

२५ कार्तिक २०७८, बिहीबार २०:१३

सोमबारदेखि सञ्चालनमा आउँदै ‘हायात प्लेस’ होटेल, यस्ता छन् सुविधाहरु



काठमाडौं, कार्तिक २५ । व्यावसायिक घराना गोल्यान ग्रुपले काठमाडौंको ताहाचलमा निर्माण गरेको पाँचतारे होटेल नोभेम्बर १५ देखि सञ्चालनमा आउने भएको छ ।

‘होटल फिनिसिङको काम पूरा भएको छ,’ ह्यात प्लेसकी मार्केटिङ म्यानेजर आकृति पाठकले भनिन्, ‘१५ नोभेम्बरबाट होटल सञ्चालनमा आउने भएको छ।’

नेपालमा गोल्यान ग्रुपको लगानीमा होटल निर्माण भएको हो। सन् २०२० को सुरुवातमै होटल सञ्चालनमा ल्याउने तयारी गरे पनि कोभिडको कारण ढिला भएको होटलले जनाएको छ। करिब साढे १० रोपनी क्षेत्रफलमा होटल निर्माण सम्पन्न भएको छ। हायात प्लेस १४ तले भवनमा छ। जहाँ सवारीसाधन पार्किङको लागि २ तल्लाको ‘बेसमेन्ट’ छ। पहिला सवा ३ अर्ब रुपैयाँ लागत अनुमान गरिएकोमा अहिले करिब ४ अर्ब रुपैयाँ पुगेको होटल गोल्यान ग्रुपले जनाएको छ।

कस्तो छ ह्यायात प्लेस ?

होटलमा १ सय ५३ वटा कोठा रहेका छन्। जसमा ३ वटा सुइट र ७ वटा टेरेस सहितका कोठा निर्माण भएका छन्।

होटलमा चौबीसै घण्टा फिटनेस सेन्टर, आउट डोर स्विमङ पुल र अरु प्रिमियम सुविधा रहनेछन्। ३० वर्ग मिटर फराकिला कोठालाई सोफासहितको बस्न र सुत्न मिल्ने गरी बेड हुनेछन्।

होटलका सुइट रुम ६० वर्ग मिटरका फराकिला हुनेछन्। जसमा बेडरुम र लिभिङ एरिया छुट्याइएको हुनेछ। सुइट रुममा किङ बेड, सोफा, ४ जना पाहुनालाई राखेर खुवाउन मिल्ने डाइनिङ टेबल हुनेछ। ग्राहकले आफूअनुकूल किङ बेडसहित टेरेस, ट्विन बेडसँगै टेरेस, सिटी भ्युसहित सोफा कोठा, सिटी भ्युसहित ट्विन बेड, ट्विन बेडसहित सोफा लगायतका कोठा छन्।

होलमा होटलमा स्पेसल इभेन्टको लागि ४ वटा ब्यान्क्वेट रहेका छन्। ठूला कार्यक्रम गर्न मिल्ने ५ सय वर्ग मिटरको हल हुनेछ। दुईवटा फ्लोरमा ३७५ र १२५ वर्ग मिटरको दुई–दुईवटा हल हुनेछन्। जसलाई एउटै कार्यक्रम गर्न वा दुईवटा कार्यक्रम गर्न सकिन्छ।

हायात प्लेस काठमाडौंमा हायातकै अन्तर्राष्ट्रिय व्यवस्थापन हुने होटलले जनाएको छ। खानाको परिकारमा सामान्य खानादेखि दक्षिणपूर्वी एसिया र इटालियन स्वाद हुनेछन्।

कोभिड महामारीकै बीचमा ‘हायात प्लेस’को सफ्ट ओपनिङ गर्न लागिएको हो । होटेल सञ्चालनको अन्तिम तयारी भइरहेको गोल्यान ग्रुपका निर्देशक अक्षय गोल्यानले बताउनुभयो  । अन्तर्राष्ट्रिय चेन हायात प्लेसको व्यवस्थापनले होटेल सम्हालिसकेको छ । सरकारको कोभिडसम्बन्धी गाइडलाइन पालना गरेर होटेल सञ्चालन गर्न लागेको हायात प्लेसका महाप्रबन्धक वरुण तलवारले बताउनुभयो । नेपालमा हायात ब्रान्डमा दुईवटा पाँचतारे होटेल पुगेका छन् । यसअघि नै बौद्धमा हायात रिजेन्सी सञ्चालनमा आइसकेको छ । वरुणसँग हायात रिजेन्सीमा साढे चार वर्ष काम गरेको अनुभव छ ।

एउटा पाँचतारे होटेलमा हुनुपर्ने सम्पूर्ण सेवा–सुविधा हायात प्लेसमा उपलब्ध हुने अक्षयको भनाइ छ । अन्तर्राष्ट्रिय ब्रान्डले व्यवस्थापन गरेपछि होटेलको सर्भिस पनि उच्चस्तरको हुने नै छ । ‘हामी होटेलका सेवा–सुविधामा कुनै पनि कम्प्रमाइज गर्दैनौँ, होटेलमा आउने पाहुनाहरू सन्तुष्ट बनेर फर्किनुपर्छ भन्ने मान्यता राख्छौँ,’ महाप्रबन्धक वरुणले भन्नुभयो ‘होटेल पनि त्यहीअनुसार तयार भएको छ ।’ होटेलमा लक्जरी र बिजनेस क्याटेगोरीका ग्राहकलाई लक्षित गरेर कोठाहरू तयार पारिएको छ । पार्किङका लागि दुईतला बेसमेन्ट छ । होटेलको भुइँतलामा नेपाली मौलिकपन झल्किने खालको लबी, ओपन किचेन तथा डाइनिङ, ठूलो ब्यांक्वेट–कन्फ्रेन्स हल, रिसेप्सनको छेवैमा सानो रेस्टुरेन्ट पनि बनाइएको छ । होटेलको लबीबाटै लक्जरी फिल हुनेछ । पहिलो तला होटेलको सर्भिसका लागि छुट्याइएको छ । दोस्रो तलामा फुल साइजको खुला स्विमिङ पुल छ, जुन ब्यांक्वेट–कन्फ्रेन्स हलको ठीकमाथि पर्छ । भुइँतलामा रहेको चार सयजना अटाउने ब्यांक्वेट हलको उचाइ दुई तलाबराबरको छ ।

स्विमिङ पुलको छेवैमा खुला रेस्टुरेन्ट एन्ड बार हुनेछ, जहाँ पुलसाइट पार्टीहरू हुनेछन् । पछिल्लो समय ओपन रेस्टुरेन्ट कल्चर पनि बढ्दै गइरहेको छ । दोस्रो तलामै हेल्थ क्लब र मिटिङ रुमहरू रहेका छन् । १४ तलाको भवनमा दुई तलाभन्दा माथि सबै रुमहरू हुन् । होटेलमा स्विट रुमहरू र सातवटा गार्डेन टेरेस रुम पनि रहेका छन् । गार्डेन टेरेस रुमको बाहिर आकर्षक गार्डेन हुन्छ, जहाँ बस्दा खुलापन महसुस हुने मात्र नभई काठमाडौं उपत्यकाको आकर्षक दृश्यावलोकन गर्न पनि पाइनेछ । होटेलबाट स्वयम्भू छर्लंग देखिन्छ । स्वयम्भूनाथ देखिने र नदेखिने कोठाको मूल्य पनि फरक–फरक हुने बताइएको छ । होटेलका ७५ वटा कोठाहरू स्वयम्भूतिर फर्किएका छन् । ‘होटेलको माथिल्ला तलामा रहेका कोठाहरूबाट स्वयम्भूनाथ मन्दिर नजिकै छर्लंग देखिने हुँदा पाहुनाले गज्जब फरकपन महसुस गर्न पाउनेछन्,’ ग्रुपका अध्यक्ष पवन गोल्यानले भन्नुभयो , ‘रातिको समयमा बत्तीले सजिएको उज्यालो स्वयम्भूनाथ मन्दिरको दृश्यावलोकन गर्दा जोकोही मोहित हुन्छ ।’

हायात प्लेसमा तत्काल क्यासिनोको सुविधा हुनेछैन । तर, क्यासिनो सञ्चालनका लागि पनि तयारी भइरहेको अक्षयले बताउनुभयो । खासगरी इन्डियन र चाइनिज पर्यटक, ट्रेकिङ ग्रुपहरू, बिजनेस क्लाइन्ट, ठूला कन्फ्रेन्सहरू होटेलका ग्राहकहरू हुनेछन् । काठमाडौंका होटेलका कोठामा आन्तरिक पर्यटक त्यति नबस्ने हुँदा विदेशी पर्यटक नै मुख्य ग्राहक हुनेछन् । तर, सभा–सेमिनार, कर्पोरेट मिटिङ, व्यक्तिगत भेटघाट, एनजिओ–आइएनजिओका कार्यक्रमहरू भने पाँचतारे होटेलमा बाक्लै हुने गर्छन् । होटेलमा हुने कार्यक्रमहरू र आन्तरिक पर्यटकलाई आफूहरूले प्राथमिकतामा राख्ने महाप्रबन्धक वरुणले बताउनुभयो ।