जनता टाइम्स

२६ कार्तिक २०७८, शुक्रबार १५:४७

लक्षित समुदायलाई जनगणनामा प्राथमिकता दिन अपिल


काठमाडौँ, २६ कात्तिक । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले लक्षित समूह र समुदायलाई प्राथमिकता दिएर जनगणनाको विवरण टिप्न र टिपाउन सरोकारवाला समक्ष अपिल गरेको छ । इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठद्वारा आज जारी अपिलमा गणनामा यथार्थ विवरण छुटे राज्यले लिने नीति तथा कार्यक्रमबाट लक्षित समूह वञ्चित हुनसक्ने भएकाले तथ्य तथ्याङ्कमा त्रुटि हुन नहुनेतर्फ सचेत गराइएको छ ।

सरकारले ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ महाभियानका रूपमा प्रारम्भ गरिएको जनगणना सफल पार्न हामी सबै नेपालीको महत्वपूर्ण जिम्मेवारी रहने अपिलमा भनिएको छ । यही कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म घरघरमा आउने गणकलाई आफ्नो परिवारमा रहेका व्यक्तिको र सोधिएका प्रश्नको विस्तृत विवरण दिनका लागि अपिल गरिएको छ ।

जनगणना सफल पार्न सचेत नागरिक, सामाजिक सङ्घसंस्था सबैले आफ्नोतर्फबाट भूमिका खेल्न सबैलाई इन्सेकले आग्रह गरेको छ । तथ्याङ्क विभागले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीको पहिलो पारिवारिक तथ्याङ्क लिएर औपचारिकरुपमा जनगणना प्रारम्भ गरेको थियो ।