जनता टाइम्स

२९ कार्तिक २०७८, सोमबार १९:०२

६ महिनामै कालोपत्रे भत्किएपछि..


सीपी लोहिया/बैतडी । बैतडी सदरमुकामस्थित गढीदेखि गोठलापानीसम्म कालोपत्रे गरिएको सडक ठाउँठाउँमा भक्तिएपछि पुनः निर्माण कार्य थालिएको छ । चार करोड ३१ लाख रकमको सम्झौतामा के एस कन्सट्रक्सन धनगढीले कालोपत्रे गरेको उक्त सडक अहिले पुनर्निर्माण गरिएको हो । कालोपत्रेको काम सकिन लागेको र सडक बत्ती राख्ने तथा पेन्टिङ गर्ने कार्य बाँकी रहेको ठेकेदार पदम गाउँलेले बताउनु भयो ।

‘हामीले तीव्र गतिमा पुनर्निर्माण कार्यअघि बढाएका छौँ । अबको एक महिनाभित्रै सडक निर्माण सम्पन्न गरेर सहरी विकास कार्यालय र दशरथचन्द नगरपालिकालाई बुझाउन आतुर छौँ’, उहाँले भन्नुभयो, ‘यसअघि निर्माण गर्दा मौसमको प्रतिकुलताले समस्या भएको थियो । अहिले परिपक्क ढंगले निर्माण भएको छ । सडक सोलार बत्ती र पेण्टीङ लगायतको केही काम बाँकी थियो । अहिले सबै सम्पन्न गरेर सम्बन्धित् निकायलाई हस्तान्तरण गर्ने तयारीमा छौँ ।’

एक वर्ष लगाएर बनाएको सडक ६ महिनामै भत्किएकाले अब बलियोसँग बनाउनुपर्ने नागरिक समाजका अगुवा धनिराम लोहारले बताउनु भयो । ‘यो सडक प्रयोग गरेर सुविधा होला भन्दा पनि आफ्ना मान्छेलाई रोजगारी दिन वा आफूनिकट ठेकेदारलाई ठेक्का पारेर कमिसन खान योजना हाले जस्तो लाग्छ । नत्र कुनै पनि ठेकेदारले निर्माण गरेपनि परिपक्क निर्माण हुनै सकेको छैन,’ उहाँले भन्नुभयो ।

गढी–गोठलापानीको मुख्य सडक निर्माणको काम कमसल ढंगले भएको भन्दै सरोकारवाला निकायलाई घचघच्याएपछि पुनः काम सञ्चालन गरिएको प्रदेश सांसद लिलाधर भट्टले बताउनु भयो । सडक निर्माण कार्य अलपत्र छाडेको ठेकेदार कम्पनी र निर्माणको जिम्मा दिने कार्यालयलाई पुनः काम सञ्चालन गर्न बाध्य गराएपछि निर्माणको काम थालिएको उहाँले बताउनु भयो ।