जनता टाइम्स

३० कार्तिक २०७८, मंगलवार ०७:३३

विप्लवको नेपाल बन्दका कारण बिहानैदेखि यात्रुलाई सास्ती : ५ बन्दकर्ता पक्राउ


काठमाडौं, ३० कार्तिक । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको नेपाल बन्दका कारण बिहानैदेखि यात्रुले सास्ती पाएका छन् । विशेषगरी लामो दूरीबाट यात्रा गरेर काठमाडौं आएका यात्रुले बिहानै सास्ती भोगेका छन् । विभिन्न जिल्लाबाट काठमाडौं आइपुगेका यात्रु काठमाडौंका विभिन्न ठाउँमा अलपत्र परेका छन् ।

कलङ्की, नयाँ बसपार्क, बल्खु, कोटेश्वर लगायतका चोकमा झरेका यात्रुहरुले गन्तव्यमा जान सार्वजनिक गाडी कुरेर बसे पनि पाउन सकेका छैनन् ।यस्तै अत्यावश्यक कामले काठमाडौं बाहिर जानुपर्ने यात्रुहरु पनि चोकचोकमा अलपत्र परेका छन् । बाहिरी जिल्लाबाट हिजो छुटेका गाडी बिहानै काठमाण्डौ आइपुगे पनि काठमाडौंबाट छुट्ने गाडी भने नगन्य रहेका छन् । बन्दको प्रभाव कम गर्न ठाउँठाउँमा प्रहरी परिचालन गरिएको छ । चोकचोकमा प्रहरीको उपस्थिति बाक्लो छ ।

प्रहरीले फाट्टफुट्ट सार्वजनिक गाडी चलिरहेको पनि जनाएको छ । सार्वजनिक गाडीको सङ्ख्या कम भए पनि निजी गाडी भने सामान्य रुपमा चलिरहेका छन् । काठमाडौं उपत्यकाका चोकचोकमा सुरक्षाकर्मीहरूको तैनाथी बढाइएको छ । बन्दको क्रममा कुनै अप्रिय घटना नभएको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार महाराजगञ्जबाट तीन जना र साँखुबाट दुई जना गरी पाँच जना बन्दकर्ता पक्राउ परेका छन् ।