जनता टाइम्स

१ मंसिर २०७८, बुधबार ०८:४०

तीन हजार बढी नेता कार्यकर्ता भित्र्याउन नेपालगञ्ज आउँदै ओली, भव्य स्वागतको तयारी


नेपालगन्ज, मंसीर १ । वृहत पार्टी प्रवेश तथा जनसभालाई सम्वोधन गर्न नेपालगन्ज आउन लाग्नु भएका नेकपा एमालेका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई भव्य स्वागतको तयारी गरिएको छ ।

अध्यक्ष ओली आज नेपालगन्ज आउँदै हुनुहुन्छ । नेपालगन्ज विमानस्थलदेखि कार्यक्रमस्थल भवानियापुरसम्म पार्टी अध्यक्ष ओलीलाई सयौं युवाहरुले स्वागत गर्दै स्कटिङ गर्ने कार्यकम तय भएको राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिव रबिन्द्र लम्सालले जानकारी दिनुभयो ।

उहाँका अनुसार, नेपालगन्ज विमानस्थलमा सयौँ युवाहरुको उपस्थितिमा पार्टी अध्यक्ष ओलीलाई भव्य स्वागत गरिने छ । कार्यक्रमलाई भव्य बनाउन व्यापक रुपमा युवा परिचालन गरिएको छ । राष्ट्रिय युवा संघ नेपाल बाँकेका पदाधिकारी तथा केन्द्रीय पदाधिकारीको बैठकले पार्टी अध्यक्षलाई बाँकेमा भव्य स्वागत र सम्मान गर्ने निर्णय अनुसार व्यापक तयारी गरिएको राष्ट्रिय युवा संघ नेपाल बाँकेका अध्यक्ष तिलकवीर सुनारले बताउनुभयो ।

जनपरिचालन अन्तर्गत बाँकेका ८१ वटै वडाहरुमा आम सभाकार्यक्रम बारे जानकारी र आम सभामा सहभागिताका लागि समन्वय गरिएको नेकपा एमाले बाँकेका उपाध्यक्ष किस्मत कुमार कक्षपतिले बताउनुभयो । कार्यक्रमलाई भव्य बनाउन पार्टीका ८ वटै स्थानीय तहमा रहेका कमिटीले बाँकेका ८१ वटै वडाका निर्वाचित वडाध्यक्ष तथा पार्टी कमिटीका वडाध्याक्षको संयुक्त वैठक गरी जनपरिचालन गरेको उपाध्यक्ष कक्षपतिले जानकारी दिनुभयो।

स्वतन्त्र समूहका नेता पशुपति दयाल मिश्रा,अब्दुल करिम खाँ र गिरिजा पाठकको नेतृत्वमा आज ३ हजार बढि मधेशी तथा मुस्लिम समुदायका नेता नेकपा एमालेमा प्रवेश गर्ने कार्यक्रम रहेको छ । मधेशका समस्या समाधान गर्ने पार्टी एमाले नै भएकोले। ६० प्रतिशत बढि २ नं क्षेत्रका कार्यकर्ता सहित जिल्ला भरीका विभिन पार्टीमा रहेका मधेशी मुस्लिम समुदायका नेता कार्यकर्ता एमाले प्रवेश गर्न लागेको स्वतन्त्र समूहका नेता एवम जिल्ला विकास समिति बाँकेका पूर्व सभापति मिश्राले जानकारी दिनुभयो । उहाँले एमालेलाई मजवुद पार्टी र सबै समुदायको पार्टी बनाउनेगरी आफू प्रवेश गर्न थालेको उल्लेख गर्नुभयो।