जनता टाइम्स

१ मंसिर २०७८, बुधबार १९:०९

एमाले महाधिवेशनको तयारी तीव्र : सौराहामा ३५ सय कोठा बुक, मंसिर ७ गते मोटरसाइकल र्‍याली


चितवन, मंसिर १ । नेकपा एमालेले १०औँ राष्ट्रिय महाधिवेशनको व्यवस्थापनसँगै प्रचारप्रसारलाई पनि तीव्रता दिएको छ । महाधिवेशन सुरु हुन अब आठ दिन मात्रै बाँकी छ । महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुनलाई विभिन्न राजनितिक दल, विदेशी कूटनीतिक नियोगका प्रतिनिधि, विदेशी पार्टीका नेतालगायतलाई निमन्त्रणा गरिएको छ ।

नेकपा एकिकृत समाजवादी लाई ‘अवैध’ भन्दै आएको एमालेले आफ्नो महाधिवेशनको उद्घाटन सत्रमा नबोलाउने भएको छ । महाधिवेशनको तयारीबारे जानकारी गराउन बुधबार पत्रकार सम्मेलन गरेका एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले महाधिवेशनमा नेकपा एसबाहेक सबै दललाई निमन्त्रणा गरिएको जानकारी दिनुभयो ।

महाधिवेशनको उद्घाटन सत्र हुने स्थान नारायणगढस्थित नारायणी नदी किनारमा बुधबारदेखि मञ्च निर्माणको काम सुरु भएको छ । बन्द सत्रमा सहभागीहरूलाई आवास तथा खानपानको व्यवस्था गर्न सौराहामा सञ्चालित होटलका ३५ सय कोठा बुक गरेर सम्झौता पनि भइसकेको छ । एमालेको महाधिवेशनको बन्द सत्र सौराहाको होटल सेभेन स्टारमा हुँदै छ । बन्द सत्र हुने स्थानमा आवश्यक पूर्वाधार निर्माणको काम सुरु भइसकेको एमालेको केन्द्रीय प्रचार विभागले जानकारी दिएको छ ।

एमालेको १०औँ महाधिवेशनबाट पार्टीलाई थप एकताबद्ध र सुदृढ बनाउँदै आगामी तीन तहकै चुनावमा बहुमत हासिल गर्ने संकल्प गरिने भट्टराईले बताएउनुभयो। ‘चितवनमा हुने महाधिवेशनबाट एमालेलाई थप एकताद्ध र सदृढ बनाएर फर्किन्छौँ । र यहाँबाट फर्किदा सामूहिक रूपमा यो संकल्प गर्छौँ कि आउने स्थानीय चुनाव र प्रदेश र संघको चुनावमा एमालेले बहुमत हासिल गर्ने छ’, उहाँले भन्नुभयो । एमालेलाई कम्युनिष्ट क्रान्तिकारीहरूको मूल पार्टीका रूपमा स्थापित गर्ने अर्को संकल्प लिइने उहाँले बताउनु भयो ।

मंसिर ७ गते मोटरसाइकल र्‍याली

महाधिवेशनको प्रचारप्रसारका लागि ७ मंसिरसम्म जिल्लाहरुका पालिका र वडा तहमा महाधिवेशन केन्द्रित अन्तरक्रिया कार्यक्रम गर्न निर्देशन दिइएको उनले बताए । ७ मंसिरमा देशभरका पालिका र जिल्ला तहमा एकैचोटी मोटरसाइकल र्‍यालीको आयोजना गरिँदै छ । ‘जिल्ला जिल्लामा १० मंसिरमा चितवन जाऔँ भन्ने अभियान सुरु भएका छन्’, उहाँले भन्नुभयो ।

महाधिवेशनको उद्घाटन सत्रमा देशभरबाट एमालेका कार्यकर्ता र शुभेच्छुक गरी पाँच लाखभन्दा बढी सहभागी हुने उनले दाबी गरे । महाधिवेशन सम्पन्न गर्न पाँच करोडभन्दा बढी नै लाग्ने अनुमान गरिएको भट्टराईले बताए । त्यसका लागि पार्टी सदस्यहरूबाट प्रतिसदस्य एक सय रुपैयाँ उठाइएको छ । देशभरबाट प्राप्त पार्टी सदस्यहरूको विवरणअनुसार एमालेको सदस्य संख्या आठ लाख १० हजार पुगेको उहाँले ।

नेतृत्व चयन सर्वसम्मतले हुने विश्वास

एमालेले ६६ जिल्लामा महाधिवेशन प्रतिनिधि छनोट गरिसकेको छ । त्यसमध्ये ९५ प्रतिशत भन्दा बढी जिल्लामा सर्वसम्मतले प्रतिनिधि चयन भएको प्रचार विभाग प्रमुख भट्टराईले बताउनुभयो । ‘अधिकांश प्रतिनिधि सर्वसम्मत ढंगले छानिनुभएको छ । यसले के संकेत गर्छ भने एमालेको महाधिवेशन पनि सर्वसम्मतको दिशामा गयो’, उहाँले भन्नुभयो, ‘चितवनमा हुने महाधिवेशनले सर्वसम्मत ढंगले नेतृत्व चयन गर्दै सम्पन्न हुने छ । हामी त्यो दिशामा जाने कोसिस गर्ने छौँ ।’