जनता टाइम्स

२ मंसिर २०७८, बिहीबार ०८:२५

एमसीसी पास गराउन धमाधम काठमाडौं उत्रदै अमेरिकी मन्त्रीहरु


काठमाडौं, मंसिर २ । काठमाडौंमा आजदेखि हुने कूटनीतिक तथा राजनीतिक भेटघाटको पूर्वसन्ध्यामा दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बुधवार बेलुका नेपाल पुग्नुभएको हो ।

बेलुका ८ बजे कतार एयरवेजको विमानबाट उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको थियो । माल्दिभ्सको राजधानी मालेदेखि उहाा सीधै काठमाडौं आईपुग्नुभएको हो । अमेरिकी राजदूत र्‍यान्डी जे बेरी र नायब शिष्टाचार महापाल रेवतीरमण पौडेलले बेरीलाई स्वागत गर्नुभएको थियो ।

दुईमहिनाअघि सहायक विदेशमन्त्रीको कार्यभार सम्हालेका लुले आज बिहीबार अपराह्न प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा भेटघाट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । शुक्रबार परराष्ट्रमन्त्री डा नारायण खड्कासँग शिष्टाचार भेट गर्ने कार्यक्रम पनि छ । उक्त मन्त्रालयका अनुसार नेपाल बसाइका क्रममा उहाँले अमेरिकी सहयोगमा सञ्चालित परियोजनाको अवलोकन समेत गर्ने कार्यक्रम रहेको छ ।

अमेरिकी राजदूतावासले आज एक विज्ञप्ति जारी गरी सहायक विदेशमन्त्री लुले सरकारका नेतृत्वकर्ताहरूसँग भेटघाट गर्नुका साथै सांस्कृतिक सम्पदा स्थलहरूको अवलोकन गर्ने जनाएको छ ।

बिहीबार दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने उपसहायक मन्त्री केली केइडरलिङ पनि काठमाडौँ आइपुग्ने तथा उहाले नेपाली अधिकारी र नागरिक समाजका नेताहरूसँग भेट गर्ने कार्यक्रम रहेको बताइएको छ ।

अमेरिकी सहायक र उपसहायक विदेशमन्त्रीको यो भ्रमण नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्धको ७५ औँ वर्ष प्रवेश हुन लागेको सन्दर्भमा भएको हो । “कोभिड-१९, जलवायु परिवर्तन र लोकतन्त्रलाई सुदृढ गर्ने अमेरिकी राष्ट्रपति वाइडेनका उच्च प्राथमिकताका विषयलाई उहाँहरूले सम्बोधन गर्नुहुनेछ”, विज्ञप्तिमा भनिएको छ ।