जनता टाइम्स

४ मंसिर २०७८, शनिबार १६:२४

एमाले महाधिवेशनका प्रतिनिधिलाई छाकैपिच्छे मासुका थरिथरि आइटम, यस्तो छ मेनु


चितवन, कात्तिक ४ । नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशन १०–१२ मंसिरसम्म चितवनमा हुँदै छ । महाधिवेशन मिति नजिकिएसँगै महाधिवेशन व्यवस्थापन र प्रचारप्रसारलाई तिव्र बनाइएको छ । मंसिर १० गते नारायणगढस्थित नारायणी नदी किनारमा महाधिवेशनको उद्घाटन सत्र हुनेछ भने ११ र १२ मंसिरमा सौराहामा बन्द सत्र हुनेछ ।

बन्द सत्रमा सहभागी महाधिवेशन प्रतिनिधि, स्वयंसेवक, अतिथिहरूका लागि होटेलका ३५ सय बेड बुकिङ गरिएको छ । बन्द सत्र हुने होटल सेभेन स्टारमा तीन छाक खानाको व्यवस्था गरिएको छ भने अन्य दुई छाक खाना प्रतिनिधि बस्ने होटलमै व्यवस्था हुनेछ । मंसिर ११ गते बिहान र बेलुका र १२ गते बिहानको खाना होटल सेभेन स्टारमा उपलब्ध हुनेछ ।

मंसिर १० गतेको बेलुकी एमाले अध्यक्ष केपी ओलीको तर्फबाट विशेष खानाको व्यवस्था गरिएको छ । मंसिर १२ गते बेलुकीको खाना महाधिवेशन प्रतिनिधि बस्ने होटलमै व्यवस्थापन हुनेछ । उक्त खानाको परिकार तयार पार्नका लागि सोल्टी र हायात होटलबाट अनुभवी सेफ ल्याउने तयारी भएको छ ।

सेभेन स्टार होटल सौराहाका सञ्चालक माधव दवाडीका अनुसार तीन छाकमा १०–१० प्रकारका खानाको व्यवस्था हुनेछ । हरेक छाकमा खसीको मासु, कुखुराको मासु र माछा हुनेछ । पहिलो छाकमा सलाद बार, सादा खाना, मिक्स दाल फ्राई, राज्मा आलु, भेज करी, मटन करी, चिकन ओभन रोष्ट, माछा फ्राई, अचार र फलफूल रहने छन् ।

दोस्रो छाकमा सलाद बार, सादा खाना, दाल मखनी, आलु गोभी, मसरुम मटर, मटन करी, चिकन डोपियाजा, माछा फ्राई, अचार साँदेको र सवुदाना हुने सञ्चालक दवाडीले जानकारी दिए । अन्तिम तथा तेस्रो छाकमा भने सलाद बार, सादा खाना, कालो दाल, आलुबोडी तामा, भेज तरकारी, मटन करी, चिकन ओभन रोष्ट, माछा फ्राई, अचार र सिवाई रहने छ ।