जनता टाइम्स

५ मंसिर २०७८, आईतवार १५:११

दुर्गमका गन्तव्यमा उडान गर्न ८ वटा जहाज किन्दै बुद्ध एयर


काठमाडौं, ५ मंसिर । निजी क्षेत्रको वायुसेवा प्रदायक बुद्ध एयरले ८ वटा नयाँ जहाज थप्ने भएको छ । दुर्गमका गन्तव्यमा उडान गर्न बुद्धले नयाँ जहाज थप गर्न लागेको हो । सन् २०२३ को सुरुबाटै नयाँ जहाजबाट उडान गर्ने गरी ८ वटा अत्याधुनिक जहाज थप गर्न लागिएको जनाएको छ । नयाँ जहाज खरिदका लागि कम्पनीले ट्वीनअटर जहाज निर्माता कम्पनीसँग छलफल गरिएको पनि बताईएको छ ।

अहिले पर्यटकीय र मुख्य शहरमा मात्रै उडान गरिरहेको बुद्ध एयरले नयाँ जहाज थप गरेर दुर्गमका गन्तव्यमा उडान गर्ने छ । पूर्वी क्षेत्रका गन्तव्यमा उडान गर्न बुद्धले रामेछापको मन्थली विमानस्थललाई हब बनाउँदैछ ।

पश्चिममा उडान गर्न पोखरा तथा कर्णाली र सुदूरपश्चिममा उडान गर्न नेपालगञ्ज विमानस्थललाई हब बनाउने योजनामा बुद्ध एयर छ । बुद्ध २०२४ मा २ वटा, क्रमश २०२५ मा पनि २ र २०२६ मा पनि २ वटा जहाज थप्ने योजना बनाएको छ । पहिलो लटमा सन्२२ भित्रै २ वटा जहाज ल्याउने योजना कम्पनीको छ । हाल बुद्ध एयरसँग १० एटीआर ७२, ३ वटा एटीआर ४२ र २ वटा ब्रिचक्राफ्ट जहाज छन् ।