जनता टाइम्स

५ मंसिर २०७८, आईतवार १९:०४

केपी कमरेडले सबैको मनोभावनालाई बुझ्दै उचित व्यवस्थापन गर्नुहुन्छ भन्ने बिश्वास छ : अष्टलक्ष्मी शाक्य (अन्तर्वार्ता)


नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य १०औं महाधिवेशनबाट एकताबद्ध एमालेको सन्देश दिने बताउनुहुन्छ । नेतृत्वले फराकिलो मनका साथ उचित व्यवस्थापन गर्नुपर्ने उहाँको सुझाव छ । गुट, फुट र विभाजनको पक्षमा जनता र कार्यकर्ता नरहेको उहाँले बताउनुभयो । अब ‘सुखी नेपालीः समृद्ध नेपाल’को लक्ष्य पूरा गर्ने पार्टी एमाले मात्रै भएको उहाँले बताउनुभयो । महाधिवेशनबाट यही सोचसहितको नेतृत्व छनौट भएर आउनेमा आशावादी रहेको बताउनुहुन्छ । शाक्यसँग महाधिवेशनको तयारीलगायतका विषयमा केन्द्रित रहेर मोहन बास्तोलाले गरेको कुराकानीः

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औं महाधिवेशन सम्मुखमा छ, तयारी कस्तो भैरहेको छ ?

अहिले महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । महाधिवेशनका लागि विभिन्न कमिटी बनाएर काम विभाजन गरी अघि बढेका छौं । ती सबै कमिटीले आ–आफ्नो ठाउँबाट तयारीलाई अन्तिम चरणमा पु¥याएको जानकारी प्राप्त भएको छ । केही दिनअघि मात्रै मूल व्यवस्थापन कमिटीको बैठक बसेको थियो । सबै कमिटीको रिपोर्टिङ्ग अनुसार पनि तयारी अन्तिम चरणमा पुगेका भन्ने देखिएको छ ।

महाधिवेशनको उद्घाटनशत्रमा पाँच लाख जनसमुदाय चितवनमा उपस्थित गराउने भन्नुभएको छ । त्यसको तयारी कसरी भएको छ ?

हो, यो पटक हामीले महाधिवेशन उद्घाटनका दिन पाँच लाख मानिसलाई चितवनमा उपस्थित गराउने भनेका छौं । बागमती प्रदेशले मात्रै ३ लाख मानिस उपस्थित गराउने भनेको छ । हामी त्यसैको तयारीमा छौं । बागमती प्रदेशमा जन–परिचालनलगायतका भेलालाई तीब्र गतिका साथ अघि बढाइरहेका छौं । बागमती प्रदेशमै महाधिवेशन हुने भएकाले पनि सबै साथीहरु एकदम मेहनत गरेर उत्साहका साथ लाग्नु भएको छ ।
यो पटक हामीले भित्तेलेखन गर्ने, पर्चा छाप्ने जस्ता विगतका परम्परालाई थाँती राखेर हामीले नविनतम् प्रविधिलाई बढी प्राथमिकतामा राखेका छौं । हामीले यो सम्मेलन प्रविधि मैत्री पनि बनाउने भनेका छौं । त्यसैले हामीले प्रविधिमा बढी ध्यान दिएका छौं । यसकारण पनि यो पटकको महाधिवेशन अत्यन्त सौहार्दपूर्ण वातावरणसहित भव्य र सुन्दर हुने अपेक्षा गरिएको छ ।

बागमती प्रदेशको पूर्व–मुख्यमन्त्री तथा पार्टीको उपाध्यक्ष पनि हुनुहुन्छ । यो पटक तपाईंरुले फरक खालको सन्देश दिन महाधिवेशन अघि नै विधान महाधिवेशन सम्पन्न गरिसक्नु भएको छ । यो विषयमा थप बताइदिनुहोस् न ?

नेपाल कम्युनिस्ट पार्टीको ७२ वर्षे इतिहासमा कहिल्यै पनि विधान महाधिवेशन भएको थिएन । हामीले यो पटक विधान महाधिवेशन गरेर नयाँ सन्देश दिएका छौं । विगतमा महाधिवेशनमा नेतृत्व छनौट प्राथमिकतामा पर्ने गरेको थियो । यो पटक हामीले घनिभूत छलफल गरेर विधान महाधिवेशन सम्पन्न गरेका छौं । हामीले अब त्यही विधानलाई टेकेर नेतृत्व छनौटको महाधिवेशन गर्दैछौं । त्यसकारण पनि यो महाधिवेशन नीति, कार्यक्रम र कार्यदिशासहित प्रष्ट आधार तयार गर्दै नेतृत्व छनौट गर्न सफल हुने अपेक्षा गरेका छौं । विधान महाधिवेशनबाट हामीले हाम्रो सांगठनिक संरचनालगायतको प्रष्ट खाका तयार गरेका छौं । त्यसैले अब महाधिवेशनबाट आउने नेतृत्वले संविधानको कार्यान्वय र एमालेले मुलुकको राजनीतिक, सामाजिक, आर्थिक रुपान्तरणका लागि कस्तो भूमिका खेल्नुपर्छ भन्ने प्रष्ट खाका बनाउने छ । त्यसको नेतृत्व लिने सक्षम खालको नेतृत्व चयन गर्नेछ ।

भनेपछि महाधिवशेनमा आउने प्रत्येक सदस्यले पनि यो कुरालाई ध्यानमा राख्नेछन् भन्ने तपाईंको अपेक्षा ?

अवश्य पनि, महाधिवेशनमा आउने प्रत्येक प्रतिनिधिले व्यक्तिगत भन्दा पनि जनताले अत्यन्त लोकप्रिय ठानेको नेकपा एमाले जस्तो पार्टीलाई कस्तो बनाउने भन्ने हेक्का राख्नेछन् । नेकपा एमाले सबैको आशा–भरोसाको पार्टी हो । यसलाई विचार, नीति र सिद्धान्तको हिसाबले पनि अझ सम्बृद्ध बनाएर लैजानुपर्ने दायित्व हरेक प्रतिनिधिको हुनेछ । यो महाधिवेशनले असल नागरिकका लागि आशा लाग्दो पार्टी नेकपा एमाले हो भन्ने सन्देश दिनेछ । त्यसैगरी यो महाधिवेशनले ‘सुखी नेपालीः समृद्ध नेपाल’को लक्ष्यलाई सार्थक बनाउन सहयोग गर्नेछ भन्ने आशा लिएकी छु । अहिले हामी नयाँ परिवेशमा छौं, जनताले समृद्धिको चाहना राखेका छन् । यो पूरा गर्ने दायित्व नेकपा एमालेको र अब आउने नेतृत्वको हुनेछ । हामी यी सबै कुरालाई ध्यानमा राखेर नेतृत्व छनौट गर्नेछौं भन्नेमा आशावादी छु ।

यसको अर्थ महाधिवेशनबाट एकताबद्ध एमालेको सन्देश दिनुहुने छ !

विगतमा भएका गुट, फुट र विभाजनबाट दिक्क भएका नेपाली जनताले अब गुट, फुट र विभाजन चाहेका छैनन् । ७२ वर्षको नेपाल कम्युनिष्ट पार्टीको इतिहास हेर्ने हो भने निकै कहाली लाग्दा गुट, फुट र विभाजन भएका छन् । अब पनि त्यही अवस्थामा रमाउने हो भने ‘सुखी नेपालीः समृद्ध नेपाल’को लक्ष्य पूरा गर्न सकिन्न । हामी यो महाधिवेशनबाट छिन्नभिन्न एमाले होइन एकतावद्ध र एकढिक्का एमाले भएको सन्देश दिनेछौं । र विकास, समृद्धिको अभियानमा अघि बढ्छौं । अहिले देशको आवश्यकता र जनताको माग पनि यही हो । हिजो यो थियो, हिजो ऊ थियो भन्ने संसयलाई अब महाधिवेशनको हलबाट अन्त्य गरेर अथवा ती सबै बिर्सिएर एकमना एकताका साथ म एमाले, हामी सबै एमाले भनेर अघि बढ्नुको अर्को विकल्प छैन । एमालेलाई कमजोर बनाउने कुरामा कसैले एक इञ्च पनि मनमा राख्नु हुँदैन भन्ने मेरो चाहना छ । महाधिवेशन पनि यही ढंगले अघि बढ्छ र देशको शक्तिशाली पार्टी एमाले पुनः स्थापित हुनेछ । यो भयो भने मात्रै हामीले समाजवादको लक्ष्य भेट्न सक्छौं ।

नेतृत्व छनोटको महाधिवेशन तपाईंहरु सम्मुखमा हुनुहुन्छ । यो सन्दर्भमा पनि केही बताइदिनुहोस् न ?

महाधिवेशनमा सबैले आ–आफ्नो चाहना राख्नु अस्वाभाविक होइन । यद्यपी, मेरो भन्दा पनि आजको आवश्यकता के ? पार्टीको आवश्यकता के ? देशको आवश्यकता के ? कम्युनिष्ट आन्दोलनलाई कसरी हाँक्ने ? भन्ने ठानेर वा सोचेर अघि बढ्नुपर्छ भन्ने मेरो बुझाई छ । यसका लागि सबै भन्दा पहिला नेतृत्व एक मना एकताका साथ अघि बढ्नुपर्छ । अपेक्षा धेरैको र पद थोरै हुँदा व्यवस्थापन गर्दा सबैलाई भाग पुग्न नसक्ला यो विषयलाई पनि व्यवस्थापन गरेर अघि बढ्नुपर्छ र पद नपाउनेले पनि आफूलाई असतुष्ट बनाएर देश, पार्टी र जनताका हितलाई सर्वोपरी ठानेर अघि बढ्नुपर्छ । गौरवशाली, ठूलो र जनमत भएको पार्टीको सदस्य भएर बस्न पनि गौरव ठान्नुपर्छ । अहिले कमरेड केपी शर्मा ओली पार्टी अध्यक्ष हुनुहुन्छ । उहाँले मन फराकिलो बनाएर कुसल ढंगले व्यवस्थापन गर्नुपर्छ । उहाँले यसो गर्नुभयो भने एमाले थप शक्तिशाली र शसक्त भएर अघि बढ्ने कुरामा दुईमत छैन । उहाँले खुलस्त रुपमा सबैको मनोभावनालाई बुझ्दै उचित व्यवस्थापन गर्नुहोला भन्ने मैले ठानेको छु ।
प्रस्तोता : मोहन बाँस्तोला