जनता टाइम्स

२० कार्तिक २०८३, शुक्रबार १५:१३

हिजो पूर्वाधार विकासमा जोड दियौँ, अब सामाजिक र अर्थतन्त्रको विकासमा लाग्छौँ : शंकर पोखरेल


काठमाडौं, कात्तिक २० । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपालको इतिहास, पहिचान र मौलिकता सुरक्षित राख्न संस्कार तथा संस्कृति संरक्षण गर्नुपर्ने बताउनुभएको छ।

लमजुङको घलेगाउँमा आयोजित समसामयिक राजनीतिक विषय, पार्टीको संगठन सुदृढीकरण तथा साझा संकल्पसम्बन्धी विचार–विमर्श कार्यक्रममा सम्बोधन गर्दै उहाँले सामाजिक सञ्जालको प्रयोगले नेपाली मौलिक संस्कृति, भाषा, रीतिरिवाज तथा परम्परामाथि नकारात्मक प्रभाव पारिरहेको बताउनुभयो।

उहाँले पश्चिमी संस्कृतिको अन्धानुकरण गर्ने र आफूलाई पश्चिमाकरण गर्ने होडबाजी रोक्नुपर्नेमा जोड दिनुभयो। ‘अन्ध नक्कल गर्ने र आफूलाई पश्चिमाकरण गर्ने होडबाजीलाई रोक्नुपर्दछ’, उहाँले भन्नुभयो।

नेपाल विभिन्न जातजाति, धर्म, संस्कार र संस्कृतिको समिश्रणबाट बनेको समाज भएको उल्लेख गर्दै महासचिव पोखरेलले मौलिक पहिचान जोगाउन सबै सचेत हुनुपर्ने बताउनुभयो। समय र परिस्थितिअनुसार आउने हरेक प्रभावलाई विचार नगरी पछ्याउँदा नेपाली मौलिकता नै समाप्त हुन सक्ने उहाँको भनाइ थियो।

सूचना प्रविधि र सामाजिक सञ्जाललाई नेपाली भाषा, संस्कृति, सामाजिक एकता तथा सामर्थ्य उजागर गर्ने माध्यमका रूपमा प्रयोग गर्नुपर्ने उहाँले बताउनुभयो। पश्चिमी संस्कृतिको अन्धानुकरण र सामाजिक सञ्जालमा देखिने प्रवृत्तिको होडबाजीबाट समाजलाई जोगाउनुपर्नेमा उहाँले विशेष जोड दिनुभयो।

महासचिव पोखरेलले नयाँ र पुरानो पुस्ताबीच विभाजन सिर्जना गर्ने प्रयास भइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो। नयाँ पुस्ताले मात्र सबै कुरा बुझ्ने र अभिभावक, शिक्षक तथा समाजका अगुवाले नयाँ पुस्ताको आवश्यकता बुझ्न नसक्ने भाष्य निर्माण गरेर पुस्ताबीच दूरी बढाउन खोजिएको उहाँको भनाइ थियो।

जनताको वर्तमान असन्तुष्टि सम्बोधन गर्ने र अपेक्षा पूरा गर्ने सामर्थ्य नेकपा एमालेसँग रहेको दाबी गर्दै उहाँले पार्टीले आगामी दिनमा सामाजिक विकास र अर्थतन्त्रको विकासलाई प्राथमिकतामा राख्ने बताउनुभयो।

हिजो एमालेले पूर्वाधार विकासलाई प्राथमिकता दिएको उल्लेख गर्दै अब सामाजिक तथा आर्थिक विकासमा केन्द्रित हुने उहाँले स्पष्ट पार्नुभयो। ‘हिजो हामीले पूर्वाधार विकासमा जोड दियौँ, अब हामी सामाजिक र अर्थतन्त्रको विकासमा लाग्छौँ‘, उहाँले भन्नुभयो।

समाजलाई विभाजित र कमजोर बनाउने लोकप्रियतावाद, अराजकतावाद तथा अवसरवादका प्रवृत्तिबाट सचेत रहनुपर्ने पनि महासचिव पोखरेलले बताउनुभयो। यस्ता प्रवृत्तिले सामाजिक एकता र सामूहिक भावनामा असर पार्न सक्ने उहाँको भनाइ थियो।

घलेगाउँले सामूहिकताको उत्कृष्ट नमुना प्रस्तुत गरेको उल्लेख गर्दै उहाँले सामूहिकता नै विकासको आधार भएको बताउनुभयो। सामूहिक प्रयास, एकता र साझा संकल्पबाट मात्रै समाजको दिगो विकास सम्भव हुने उहाँको धारणा थियो।