जनता टाइम्स

७ मंसिर २०७८, मंगलवार १०:०८

यी हुन एमाले अध्यक्ष ओलीको आजका दुई महत्वपुर्ण कार्यक्रम


काठमाडौं, मंसिर ७ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक आज मंगलबार बस्दैछ । बैठक बिहान ११ बजे बस्ने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

एमालेले सोमबार स्थायी कमिटी डाकेको थियो । तर नेताहरुको कार्यव्यस्तता भन्दै बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो ।

एमालेको १०औँ महाधिवेशनको तीन दिन अघि स्थायी कमिटी बस्न लागेको हो । बैठकले महाधिवेशन प्रतिनिधि मनोनयन गर्ने नेता तामाङले जानकारी दिनुभयो । एमाले महाधिवेशन १०-१२ मंसिरमा चितवनमा हुँदैछ ।

विधानअनुसार कुल महाधिवेशन प्रतिनिधिको पाँच प्रतिशत मनोनित गर्न सकिने व्यवस्था छ । यसरी करिब एक सयको हाराहारीमा महाधिवेशन प्रतिनिधि मनोनित हुनेछन् । बैठकमा महाधिवेशनको तयारी र व्यवस्थापकीय कामबारे छलफल हुनेछ ।

स्थायी कमिटीलगत्तै एमाले अध्यक्ष केपी ओलीले आज सम्पादकहरुसँग अन्तरक्रिया गर्दै हुनुहुन्छ । महाधिवेशन केन्द्रित रहेर ओलीले आज दिउँसो २ बजे अल्फाबिटामा सम्पादकहरुसँग अन्तरक्रिया गर्न लाग्नुभएको प्रचार बिभागका उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो ।