जनता टाइम्स

७ मंसिर २०७८, मंगलवार १३:३५

प्लेन उडाउँदा उडाउँदै पाइलटको ‘ड्यूटी’ सकिएपछि रुकुम उडेको प्लेन नेपालगञ्जमा


काठमाडौं, ७ मंसिर । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सोमबार नेपाल एयरलाइन्सको ट्वीनअटर विमान रुकुमको चौरजहारी विमानस्थल उड्दै थियो । अपरान्ह ३ बजेको समयमा जहाज काठमाडौँबाट छुट्ने समय तालिका थियो । जहाजमा ८ जना यात्रु थिए । तर, जहाज रुकुमको चौरजहारी नपुगी नेपालगञ्ज विमानस्थलमा अवतरण भयो ।

एयरहोस्टेजबाट जहाजमा कुनै प्राविधिक समस्या आएको पनि जानकारी भएन, र नेपालगञ्ज विमानस्थलमा अवतरण गर्दैछौं भन्ने पनि जानकारी नपाएका यात्रुहरु चाँडै चौरजहारी आईपुगियो भनेर खुशी भए । तर, विमान नेपालगञ्ज विमानस्थलमा अवतरण भएको थियो ।चौरजहारी रुटकै बीचमा पर्ने नेपालगञ्जमै प्लेन अवतरण हुनुको कारण भने आकाशमै पाइलटको ड्यूटी सकिनु रहेको छ ।

जहाज उडाउँदा उडाउँदै पाइलटको ड्यूटी सकिएपछि उहाँले प्लेनलाई नेपालगञ्जमै अवतरण गराउनुभएको बताइएको छ । उक्त जहाजमा पाइलट हुनुहुन्थ्यो पेम्बा शेर्पा । उहाँको ड्यूटी बिहान ५ः३० बजे सुरु भएर अपरान्ह ४ बजेसम्म मात्रै थियो । ड्यूटी सकिने समयमा जहाज नेपालगञ्जको आकाशमाथि पुगेपछि पाइलट शेर्पाले आफ्नो ड्यूटी सकिएको भन्दै जहाजलाई नेपालगञ्ज विमानस्थलमै अवतरण गराउनुभयो ।

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले यो घटनाबारे आफूले पनि जानकारी पाएको भन्दै थप कुरा बुझ्ने काम भईरहेको बताउनुभएको छ । पाइलटको सनकका कारण यात्रुले दुःख पाएको भन्दै आलोचना भएपनि निगम प्रशासनले थप बुझ्ने र आवश्यक निर्णय लिईने जनाएको छ । आफ्ना पाइलटले गन्तव्यसम्म यात्रु नपुर्याएपछि यात्रुहरुलाई नेपालगञ्जकै होटलमा राखेर आज बिहान रुकुमको चौरजहारी पुर्याइदिएको निगम स्रोतले जनाएको छ ।