जनता टाइम्स

९ मंसिर २०७८, बिहीबार १७:२०

फुल कोर्ट बैठक : सर्वोच्चमा मङ्सिर १५ गतेदेखि गोला प्रक्रियाबाट पेसी तोकिने


काठमाडौं,  ९ मंसिर सर्वोच्च अदालतमा यही मङ्सिर १५ गतेदेखि गोला प्रक्रियाबाट पेसी तोकी मुद्दाको सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतको फुल कोर्ट बैठकले संशोधित नियमावली यही मङ्सिर १५ गतेदेखि लागू गर्ने निर्णय गरेको छ ।

प्रधानन्यायाधीशको अधिकार कटौती गर्दै पेसी व्यवस्थापन निर्देशन समितिको व्यवस्था गरिएको संशोधित विधान मङ्सिर १५ देखि लागू हुनेछ ।

सर्वोच्च अदालतमा आज बिहीवार बसेको न्यायाधीशको पूर्ण बैठक (फुल कोर्ट) बैठकले यो प्रक्रियाबाट पेसी तोकी मुद्दाको सुनुवाइ गर्ने निर्णय गरेको हो । गोला प्रक्रियाबाट मुद्दाको पेसी तोकी सुनुवाइ गर्नुपर्ने माग सर्वोच्चका न्यायाधीश र नेपाल बार एसोसिएशनको पनि थियो । अब यो माग पूरा हुने भएको छ ।

सर्वोच्चमा गएको कात्तिक ८ गतेदेखि मुद्दाको सुनुवाइ हुनसकेको छैन । बीचबीचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ भएको थियो । पछिल्लो समयमा केही अन्य मुद्दामा पनि सुनुवाइ भएको छ । अदालतमा मुद्दाको चापअनुसार नियमति रूपमा इजलास बस्न नसक्दा न्यायका पर्खाइमा बसेका सेवाग्राही मर्कामा परेका छन् ।