जनता टाइम्स

१० मंसिर २०७८, शुक्रबार १५:०८

ओलीसँगै जेलजीवन विताएको भन्दै देउवाले भने– भोलीका दिनमा यस्तो नहुन मिलेर अघि बढौं


चितवन, १० मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक आन्दोलनबाट प्राप्त लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्नु सबै दलको जिम्मेवारी भएको बताउनुभएको छ । चितवनमा सुरु भएको एमालेको १० औं महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना व्यक्त गर्दै उहाँले एमालेलाई महत्त्वपूर्ण भूमिका खेल्न आग्रह गर्नुभयो । उहाँले राष्ट्रिय स्वाधीनताको सुनिश्चित गरी देशलाई समृद्ध बनाउन समान धारणा तय गर्न सबै दलबीच संवाद र सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।

‘कानुनी शासन, जनअधिकार, व्यक्तिगत स्वतन्त्रताको रक्षा गर्नुका साथै समृद्ध देश बनाउनका लागि सबै दलको सहयोग आवश्यक पर्छ’, प्रधानमन्त्री देउवाले भन्नुभयो । उहाँले सबै नागरिकलाई खोप पुर्‍याउन सरकार प्रतिबद्ध रहेको र नागरिकको जीवन रक्षाका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको छ । देउवाले देशमा परिवर्तन ल्याउने विषयमा सबै दलहरु एकैठाँउ रहेको भन्दै आपसी विमतीहरु वार्ता र सम्बादको माध्यमबाट समाधान गर्नुपर्नेमा जोड समेत दिनुभयो । नेकपा एमालेको १० औं महाधिवेशनलाई सम्बोधन गर्दै देउवाले एमाले अध्यक्ष केपी ओलीसँगै हिजो परिवर्तनको पक्षमा लड्दा सँगै जेल जीवन विताएको भन्दै भोलीका दिनमा यस्तो अवस्था नआओस् भन्ने गरी मिलेर अघि बढ्नुको विकल्प नभएको बताउनुभयो ।

सबे मिलेर नयाँ संविधान तथा विभिन्न परिवर्तनहरु नेपालमा ल्याएको भन्दै सबै दलहरु मिलेर नै संविधानलाई संस्थागत गर्नुपर्ने बताउनुभयो । मतभिन्नताहरु भएपनि लोकतान्त्रिक मूल्य मान्यतालाई जीवनपद्दती बनाइ देशलाई समृद्ध बनाउने अभियानमा सबै दलको लक्ष्य एकै हुनुपर्ने बताउनुभयो । लोकतन्त्रलाई सुदृढ बनाउन सबै दलहरुवीच निरन्तर सम्बन्ध, वार्ता र सहकार्यहरु हुनुपर्ने भन्दै नीतिगत रुपमा भएका मतभिन्नताहरु सबै बसेर समाधान गर्ने र स्वीकार गर्ने पद्दती ल्याउनुपर्ने उहाँले बताउनुभयो । दलहरुवीच सदभाव छलफल, सम्बाद मार्फत सम्बन्ध स्थापना गर्न चाहने भन्दै उहाँले एमाले अध्यक्ष केपी ओलीसँगै हिजोका दिनमा सँगै जेलमा बसेको भन्दै उहाँले भोलीका दिनमा कसैले यस्तो अवस्था भोग्न नपरोस भनेर अघि बढ्नुपर्ने बताउनुभयो ।