जनता टाइम्स

१२ असार २०७६, बिहीबार १९:२३

नेपालको आर्थिक सुधारबाट बिश्व बैंक प्रभावित : उपाध्यक्षले गरिन अर्थमन्त्री खतिवडाको उच्च प्रसंशा


काठमाडौं, असार १२

अर्थमन्त्री डा. युवराज खतिवडासंग विश्व बैंकका उपाध्यक्ष तथा महालेखा परीक्षक एन्के डिएन्जेलोले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । अर्थ मन्त्रालयमा आज भएको भेटबार्तामा अर्थमन्त्री खतिवडाले उपाध्यक्ष एवं महालेखा परीक्षकलाई स्वागत गर्दै नेपालको विकास प्रयासमा बैंकको निरन्तर सहयोगप्रति धन्यवाद व्यक्त गर्नु भयो ।

सन् २०२२ सम्ममा नेपाल विकासशील राष्ट्रको स्तरमा स्तरोन्नतिहुने र सन् २०३० सम्ममा कम आयस्तर भएको मुलुकबाट मध्यम आयस्तर भएको मुलुकमा स्तरोन्नति हुने दीर्घकालीन लक्ष्य हासिल गर्न वर्तमान सरकार कटिवद्ध रहेको चर्चा गर्दै यसका लागि बिश्व बैंकको सहयोगको निरन्तरता रहने विश्वास व्यक्त गर्नु भयो । भेटमा विश्व वैंकका तर्फवाट अर्थमन्त्री खतिवडाको नेतृत्वमा विभिन्न आर्थिक सुधारका कार्यक्रमहरुलाई तिव्रताका साथ अगाडि बढेकोमा प्रशंसा गर्नुभयो ।

मुलुकको दीर्घकालीन सोचका बारेमा उपाध्यक्ष तथा महालेखा परीक्षकले राखेको जिज्ञासामा अर्थमन्त्री खतिवडाले विश्व बैंकले आगामी दिनमा पुर्याउन सक्ने थप सहयोगको अपेक्षासहित नेपालले अवलम्बन गरेका दीर्घकालीन सोंचका बारेमा जानकारी गराउँदै विकासशील राष्ट्रको स्तरबाट स्तरोन्नति हुने मापदण्ड नेपालले करिब–करिब पूरा गरिसकेको जानकारी दिनुभयो । नेपाल सरकारले प्रक्षेपण गरे बमोजिम आगामी केही वर्ष दिगो रुपमा उच्च आर्थिक बृद्धि हासिल गरी सोको लाभ सन्तुलित रुपमा सबै तह र तप्कामा न्यायोचित वितरण गर्न सकिनेमा विश्वस्त हुन पनि आग्रह गर्नुुभयो ।

उहाँले संघीय संरचनाअनुरुप स्थानीय तह, प्रदेश र संघीय सरकारले ईमान्दारीपूर्वक आर्थिक र सामाजिक विकासमा ध्यान केन्द्रित गर्न सकेमा नेपाल कम आयस्तर भएको मुलुकबाट मध्यम आयस्तर भएको मुलुकमा स्तरोन्नति हुने खाका प्रस्तुत गर्नुभयो । सो अभियानमा ठूलो आर्थिक तथा प्राविधिक साधन र श्रोतको आवश्यकता पर्ने भन्दै अर्थमन्त्री खतिवडाले यस अवधिभर स्तरोन्नति भएपछि पनि केही वर्षका लागि सहुलियत दरमा विश्व बैंकलगायतका अन्य विकास साझेदार मुलुक तथा संस्थाहरुबाट निरन्तर सहयोग प्राप्त हुने अपेक्षा गर्नुभयो ।

भेटकामा आर्थिक सल्लाहकार डा. रामशरण खरेल, अर्थ मन्त्रालयका अन्र्तराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैंक नेपाल तथा आर्थिक वित्त निगम नेपालका प्रमुखलगायत विश्व बैंकका उच्च पदाधिकारीहरुको उपस्थिति थियो ।