दोलखा, १२ मंसिर । शुक्रबार चरिकोट प्रदेश अस्पतालमा तामाकोसी गाउँपालिका—६ च्यामाकी एक गर्भवती महिलाको शल्यक्रिया गरेर प्रसूति गराइयो । तर नवजात शिशुलाई संक्रमण भएपछि भेन्टिलेरसहितको एनआईसीयूमा राख्नुपर्ने अवस्था आयो । चरिकोट अस्पतालमा भेन्टिलेर र आईसीयू भए पनि सञ्चालनमा छैन ।
यस्तोमा नाबालकका बुबा अर्जुन महतलाई चरिकोट अस्पतालले दोलखास्थित धुलिखेल अस्पताल जान रेफर गरिदियो । अन्तिम अवस्थामा नवजात शिशुलाई उनले यतिबेला धुलिखेल अस्पतालको भेन्टिलेटरमा राखेका छन् । यसअघि कोरोनाका धेरै बिरामीले जिल्लामा भेन्टिलेटर र आईसीयू नभएर ज्यान गुमाउँदै आएका थिए । चरिकोट अस्पतालमा झन्डै ३ करोड रुपैयाँमा ६ वटा भेन्टिलेटर र आईसीयू खरिद गरिए पनि अहिलेसम्म थन्किएरै बसेको छ । जिल्लामै पहिलो पटक दोलखास्थित धुलिखेल अस्पतालले भेन्टिलेटर र आईसीयू सञ्चालनमा ल्याएपछि बिरामीलाई राजधानीका अस्पताल पुर्याउनुपर्ने बाध्यता हटेको छ ।
काठमाडौं विश्वविद्यालयअन्तर्गतको धुलिखेल अस्पतालले दोलखामा पनि अत्याधुनिक सेवासहितको ५० शय्याका अस्पताल सञ्चालनमा ल्याएको हो । अस्पतालमा ४ वटा अत्याधुनिक भेन्टिलेटर र आईसीयूसहितको शय्या पहिलो पटक सञ्चालनमा ल्याएको अस्पतालका मेडिकल अधिकृत डाक्टर राजकुमार दंगालले बताउनुभयो । जिल्लामै पहिलो पटक बालबालिकाका लागि समेत भेन्टिलेटर र आईसीयू जडान गरेर सञ्चालनमा आएको उहाँले जानकारी दिनुभयो ।
जिल्लामै पहिलो पटक बालबालिकाकै लागि भेन्टिलेटर एनआईसीयू सञ्चालनमा आएको उहाँले बताउनुभयो । जिल्लाभरका गम्भीर बिरामीलाई भेन्टिलेटर र आईसीयूको आवश्यकता पर्यो भने राजधानी रिफरबाहेक कुनै विकल्प थिएन । रकम हुनले हेलिकोप्टरमार्फत र कोहीले सडकमार्फत राजधानी लैजाने गरेका थिए । न्यून रकममै यो सेवा सञ्चालन गरिएको अस्पतालले जनाएको छ । हाल भेन्टिलेटर र आईसीयूमा राखिने बिरामीलाई दैनिक २१ सय लिने गरेका छौं,’ डा. दंगालले भन्नुभयो , ‘अति विपन्न र असहायका लागि अस्पतालले निःशुल्क सेवा दिने गरेको छ ।’ अस्पतालले मातृसुरक्षा कार्यक्रम पनि सुरु गरेको छ । गर्भवती हुन नसकेकाको शल्यक्रिया अस्पतालमा निःशुल्क सुरु भएको अस्पतालका प्रशासनका रमेश श्रेष्ठले जानकारी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्