जनता टाइम्स

१२ मंसिर २०७८, आईतवार १३:५२

किस्तामा बक्यौता तिर्ने सुविधा पाएको सुमार्गीले नतिरेपछि लाइसेन्स खारेज


काठमाडौं, १२ मंसिर । व्यवसायी अजेयराज सुमार्गीको नेपाल स्याटेलाइट टेलिकम प्रालि (हेलो नेपाल) को लाइसेन्स खारेज भएको छ। नेपाल दूरुसञ्चार प्राधिकरणले कम्पनीले हेलो नेपालको लाइसेन्स खारेज गरेको हो । बक्यौता नतिरेको भन्दै कम्पनीको अनुमति खारेज गरिएको प्राधिकरणले जनाएको छ ।

शुक्रबार बसेको प्राधिकरणको बोर्ड बैठकले हेलो नेपालको लाइसेन्स खारेज गर्ने निर्णय गरेको प्राधिकरणका निर्देशक सन्तोष पौडेलले बताउनुभयो । प्राधिकरणको बोर्ड बैठकमा यस विषयमा छलफल भएपछि बक्यौता नतिरको र तिर्ने प्रतिबद्धता पनि नजनाएकाले अनुमति खारेजको निर्णय गरिएको बताईएको छ । यसअघि पनि खारेजीमा परेको हेलो नेपालले बक्यौता तिर्ने प्रतिबद्धता जनाएपछि मन्त्रिपरिषदबाटै खारेजी रोक्का भएको थियो । किस्तामा बक्यौता तिर्ने सुविधा पाएपनि नतिरेपछि खारेज गरिएको प्राधिकरणले जनाएको छ ।

यसअघि २०७६ साउन १७ गते नै प्राधिकरणले कम्पनीको अनुमतिपत्र खारेजको निर्णय गरेको थियो । त्यतिबेला मन्त्रिपरिषद बैठकले किस्तामा बक्यौता तिर्ने सुविधा दिएको थियो । यो सुविधा पाएपछि कम्पनीले जम्मा १ किस्ता मात्रै तिरेको छ । हेलो नेपालले ३२ करोड रुपैयाँ तिर्न बाँकी छ । कम्पनीका मालिका सुमार्गीलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निकट व्यवसायी मानिन्छन् ।