चितवन, १२ मंसिर । प्युठानका खिमबहादुर बुढामगर दम्पतीलाई एमालेको १०औँ राष्ट्रिय महाधिवेशन बन्दसत्र स्थल सौराहामा अल्लो (सिस्नोको प्रजाति) को कपडा बेच्न भ्याइनभ्याई छ । अल्लोको धागोबाट आफैले बनाएको कोट, टोपी र झोला बेच्न उनीहरू प्युठानदेखि चितवन आउनुभएको हो । खिमबहादुर र उहाँको श्रीमती चित्रकली बुढामगर दिनभर कपडा बेच्नमा व्यस्त हुनुहुन्छ ।
एमालेको महाधिवेशनलाई उहाँहरूले राम्रो मौकाका रूपमा लिनुभयो । एमालेले चितवनमा महाधिवेशन गर्ने तय भएपछि बुढामगरका दम्पती अल्लोको कपडा बेच्न चितवन आउने निधो गर्नुभएको थियो । नारायणी नदी किनारमा १० मंसिरमा महाधिवेशनको उद्घाटन हुँदै थियो । उहाँहरू ७ मंसिरमै चितवन आइपुग्नुभयो । त्यही दिनदेखि नदी किनारमा मञ्चको अगाडि कपडा बेच्न थाल्नुभयो ।
राति नारायणगढ लिलाचोकस्थित एक अतिथि सदनमा बास बस्नुभयो । बन्द सत्रका लागि सहभागीहरू १० मंसिरको राति महाधिवेशन प्रतिनिधि सौराहा आएका थिए । उहाँहरू पनि कपडा बेच्नका लागि सौराहा आउनुभएको हो । ‘बन्दसत्र यहाँ (सौराहा) हुने भएपछि हामीहरू पनि यहीँ आयौँ । शनिबार ९५ हजारको व्यापार भएको थियो’, खिमबहादुरले भन्नुभयो ।
दैनिक सरदर एक लाखको व्यापार
अल्लोको टोपीलाई उद्योगबाट खुद्रामा बिक्री गर्दा प्रतिटोपी सात सय रुपैयाँमा बिक्री हुन्थ्यो । व्यापारीलाई दिने थोक मूल्य प्रतिटोपी पाँच सय रुपैयाँ थियो । अहिले महाधिवेशनलाई लक्षित गरेर खुद्रामा पनि प्रतिटोपी पाँच सय रुपैयाँमा नै बिक्री गरिएको उहाँले बताउनुभयो । ‘देशभरका महाधिवेशन प्रतिनिधिले लगाउन् भनेर थोककै मूल्यमा बिक्री गरेका छौँ’, उहाँले भन्नुभयो । स्टकोटलाई ३५ सय, जुवारी कोटलाई ४५ सय र फुल कोटलाई नौ हजारमा बिक्री गरिएको उहाँले बताउनुभयो ।
त्यही मूल्यमा एउटा टोपी पनि दिने गरिएको उहाँको भनाइ छ । टोपी नलैजानेलाई पाँच सय रुपैयाँ छुट दिने गरिएको छ । उद्योगबाटै कपडा बेच्दा दिनमा उनीहरूको १५ हजार रुपैयाँजतिको व्यापार हुन्थ्यो । महाधिवेशनको उद्घाटनका दिनमा भने एक लाख आठ हजार रुपैयाँको व्यापार भएको उनले बताए । महाधिवेशनअघि ८ मंसिरमा ८० हजार र ९ मंसिरमा ७९ हजार रुपैयाँको व्यापार भएको उहाँ बताउनुहुन्छ ।

श्रीमान् श्रीमती नै अध्यक्ष र व्यवस्थापक
कपडा बनाउने उहाँहरूको आफ्नै उद्योग छ । प्युठानमा कोठिहिमाल अल्लो कपडा उद्योग छ । उद्योगको अध्यक्ष उनकै श्रीमती चित्रकली हुनुहुन्छ भने व्यवस्थापक खिमबहादुर । ‘मुख्यतः हामी महाधिवेशनकै लागि भनेर आएका हौं । महाधिवेशनमा व्यापार पनि सँगसँगै गरौँ भनेर आयौँ’, उहाँले थप्नुभयो, ‘पहिला त मान्छेहरूले यो कपडा खासै चिन्दैनथे । किन्दैनथे पनि । अहिले चाहिँ चिन्ने जतिले किनिरहेका छन् ।’
अल्लोको कपडाले गर्मीमा शीतल र जाडोमा न्यानो बनाउने उहाँ बताउँनुहुन्छ । यो कपडाले सुगर र प्रेसर पनि नियन्त्रण गर्न सघाउने उहाँको भनाइ छ । चित्रकलीले २०६२ मा अल्लोको कपडा बनाउने तालिम लिनुभएको हो । मगर समुदायमा भांग्रा बनाउने र अल्लोको धागो निकाल्न जान्ने महिलासँग मात्रै पुरुषले विवाह गर्नुपर्ने विगतमा त्यहाँको चलन थियो । त्यस्तै, सीप नभएको पुरुषसँग मात्रै महिलाको विवाह गरिदिने प्रचलन थियो ।
‘पहिला किनेर लगाउन सक्ने अवस्था थिएन । किन्न परे पनि पैसा हुन्थेन । त्यसैले महिलामा अनिवार्य यसको धागो निकाल्ने र बुन्ने सीप हुनुपर्थ्यो। छोरा मान्छेमा चाहिँ हलो तान्ने, डोको बुन्ने जस्ता सीप हुनुपर्थ्यो’, उहाँले थप्नुभयो,‘अहिले चाहिँ किन्न पाइन्छ । मान्छेले विभिन्न जागिर गर्छन् ।’ उहाँहरूले २०४२ सालमा विवाह गरेका हुन् । दुई जना छोरा र बुहारी छन् । छोराबुहारी पनि अल्लोकै कपडा बनाउने र बेच्ने काममा लाग्नुभएको छ ।
परिवारका सदस्यसँगै अरु नौ जनालाई पनि रोजगार दिनुभएको छ । धागो निकाल्न धेरै मान्छेको आवश्यकता पर्ने भएकाले अप्रत्यक्ष रूपमा हजारौँ जनाले पनि रोजगारी पाएको उहाँ बताउँनुहुन्छ । कपडा उद्योगमा एक करोडभन्दा बढी लगानी रहेको उहाँले बताउनुभयो । व्यापार बढ्दै गएकाले थप मेसिनको आवश्यक परेको छ । उहाँहरूले अहिलेसम्म पनि हातले नै धागो निकाल्ने गर्नुभएको छ ।
आफ्नै जग्गामा अल्लो खेती
प्युठानको नौबहिनी गाउँपालिका(६ र १० मा अल्लो बनाउने उनीहरुको उद्योग रहेका छन् । ‘घरतिर त दिनदिनै व्यापार हुँदैन । महिनामा भन्नुपर्दा तीनदेखि चार लाख रुपैयाँका कपडा हामीले बेच्ने गर्छौं । यहाँ मौका मिलेको छ । दिनमै एक लाखको हाराहारीमा व्यापार भइरहेको छ’, चित्रकलीले भन्नुभयो । ससुराले दिएको नौ रोपनी जग्गामा उहाँहरुले अल्लो खेती गर्नुभएको छ । त्यो देखेर अरुले पनि गाउँमा अल्लोको खेती गरेको उहाँ बताउनुहुन्छ । अल्लोलाई स्थानीय भाषामा पुगा पनि भन्ने गरिन्छ । अल्लोका कपडा पनि विभिन्न किसिमका छन् ।
कुनै शतप्रतिशत अल्लोबाट बनेका कपडा छन् भने कुनैमा २५ देखि ७५ सम्म वुलन मिसाइएका कपडा पनि छन् । ‘कुनै कपडामा हामीले वुलन पनि मिसाएका छौँ । हाम्रो नेपालीलाई झिल्के देखिनुपर्छ, त्यसकारण हामीले मिसाएका हौँ’, उहाँले भन्नुभयो । खरानी पानीमा पकाएर अल्लोको धागो निकालिन्छ । अल्लो पकाउने मेसिन खरिदका लागि पोखरा विश्वविद्यालय र कोरिया विश्वविद्यालयले अनुदान दिएको उहाँले बताउनुभयो । ‘हाम्रो देशमा उत्पादन भएको कपडा लगाउने र अरुलाई पनि प्रोत्साहन गर्नुपर्छ । यो कपडा सस्तो र स्वास्थ्यका लागि पनि उपयुक्त छ’, उहाँले भन्नुभयो ।

धागो निकाल्न नजान्ने महिलाको विवाह नहुने
विवाह भइसकेपछि श्रीमतीले आफ्नो श्रीमानका लागि भांग्रा र कछाड बनाइदिनुपर्ने परम्परा रहेकाले माइतीमा छँदै आमाले आफ्ना छोरीहरूलाई भांग्रा र कछाड बनाउन सिकाउने उहाँ बताउनुहुन्छ । ‘धागो निकाल्न जानेन भने त्यस्तो महिलाको विवाह नै नहुने हुन्थ्यो । हाम्रो गाउँमा अझै पनि त्यस्ता महिला चार जना छन्, धागो निकाल्न नजानेर विवाह नभएका’, उहाँ भन्नुहुन्छ, ‘कोही हाम्रो उमेरका । कोही हामीभन्दा अलि जेठा छन् ।’
२०६२ सालमा तालिम लिएर उहाँले व्यावसायिक रूपमा अल्लोको कपडा बनाउन थाल्नुभएको हो । ‘सुरुमा त मैले धागो मात्रै बनाएर काठमाडौँमा लगेर बेचेको हो । तालिम लिएपछि कपडा नै बनाएर बिक्री गर्न थालेँ’, उहाँले थप्नुभयो, आफूले बनाएका अल्लोका कपडा उनले काठमाडौँको भृकुटीमण्डपमा लगेर प्रदर्शनीमा पनि राख्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्