जनता टाइम्स

१४ मंसिर २०७८, मंगलवार १२:२५

कांग्रेस भक्तपुर सभापतिमा फेरि दुर्लभ थापा


भक्तपुर, १४ मंसिर । नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापतिमा दुर्लभ थापा पुनः निर्वाचित हुनुभएको छ । निकटतम प्रतिस्पर्धी अष्टकुमार कवेलाई ११३ मतले पछि पार्दै थापा सभापति बन्नुभएको हो । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पक्षीय थापाले ५५५ मत पाउँदा कवेले ४४२ मत मात्र पाउनुभएको छ । कवे संस्थापन इत्तर पक्ष नेता प्रकाशमान सिंह निकट हुनुहुन्छ ।

जिल्ला कार्यसमितिमा थापा पक्षीय उम्मेदवार विजयी हुनुभएको हो । उपसभापतिमा विजेश अवाल र उर्मीला वन निर्वाचित हुनुभयो । अवालले ५५९ र वनले ५१४ मत प्राप्त गरे। सचिवमा सुशील बस्नेत ५५२ र राजेश खड्का ४८५ मतका साथ निर्वाचित हुनुभयो । सहसचिवमा यादवप्रसाद अधिकारी र कृष्णमुरारी न्यौपानेले निर्वाचित हुनुभएको हो । अधिकारीले ५७४ र न्यौपानेले ५१४ मत प्राप्त गर्नुभएको छ ।

जिल्ला सदस्यमा थापा समूहबाट रमिला कपाली, देवेन्द्र श्रेष्ठ, राजेश मानन्धर, ललिता धिताल, जीवन श्रेष्ठ, दीपेन्द्रकुमार थापा मगर, रजनी किसिजु, धर्मरत्न खाईतु र रामबहादुर कासुला विजयी हुनुभएको छ । त्यस्तै, कल्पना लामिछाने, प्रेम खत्री, रोशनी तामाङ, दिललक्ष्मी कायस्थ, रामेश्वर ध्वजुँ, धनबहादुर थिङ, रामप्रसाद धौवञ्जार,सिर्जना केसी, देवेन्द्र न्यौपाने, अच्युत अधिकारी, मनिता नेपाली, सशी बस्नेत र राम दिनेशलाल कर्ण निर्वाचित हुनुभएको छ । जिल्ला सदस्यमा कवे समूहका उमेशकुमार खड्का निर्वाचित हुनुभयो ।