जनता टाइम्स

१६ मंसिर २०७८, बिहीबार १७:०३

लुम्बिनी गुरुयोजना र बिमानस्थलको काममा भएको ढिलाईप्रति एमाले उपाध्यक्ष बिष्णु पौडेल आक्रोशित


बुटवल, मंसिर १६ । एमाले उपाध्यक्ष विष्णु पौडेलले निर्धारित समयमै लुम्बिनी गुरुयोजनाका बाँकी काम पूरा गर्न सरकारलाई आग्रह गर्नुभएको छ । पूर्ववर्ती सरकारका उपप्रधान तथा अर्थमन्त्रीसमेत रहनुभएका एमाले उपाध्यक्ष पौडेलले केपी ओली नेतृत्वको सरकारले विनियोजन गरेको रकम सदुपयोग गरेर निर्धारित समयमै गुरुयोजनाको काम पूरा गर्न आग्रह गर्नुभएको हो ।

लुम्बिनी विश्वविद्यालयको १७ औं वार्षिकोत्सवका अवसरमा आज आफ्नो धारणा राख्दै पौडेलले पूर्ववर्ती ओली नेतृत्वको सरकारले ४० वर्षसम्म पूरा हुन नसकेको गुरुयोजना तीन वर्षभित्र पूरा गर्नेगरी रकम विनियोजन गरिए पनि सरकार परिवर्तनसँगै कार्यान्वयनमा ढिलाई भएकोे भन्दै आपत्ति जनाउनु भयो ।

‘पूर्ववर्ती सरकारले ३ वर्षभित्र गुरुयोजनाका बाँकी काम पूरा गर्न ७ अर्ब ३३ करोड छुट्टाएको थियो, यसको सही सदुपयोग गरेर समयमै पूरा गर्न ढिलाई भएको कुरा बाहिर आएको छ, यसले कसैलाई हित गर्नेछैन, यस्तो नहोस,’ पौडेलले भन्नुभयो, ‘संसारका महत्वपूर्ण योजनामध्ये जापानिज वास्तुकलाविद् केन्जो टाँगेले बनाएको योजनाले विशेष अर्थ राखेको छ ।’ उपाध्यक्ष पौडेलले संसारमा कसैले बुद्धजन्मस्थल बनाउन नसक्ने भएकाले यसलाई विशेष धार्मिक तथा पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने धारणा पनि राख्नुभयो ।

पौडेलका अनुसार बुद्धिजम पढ्ने संसारका विद्यार्थीहरुलाई यहाँ अध्ययनका लागि आकर्षण गर्न सकिन्छ । पौडेलले गुरुयोजनामै समेटेर बुद्धजन्मस्थलसँगै तिलौराकोट दरबार, त्यस दरवार वरिपरीको क्षेत्र, उत्खनन हुन नसकेको बुद्धको अस्तु राखिएको रामग्राम, बुद्धको मावली देवदहलाई जोडेर विशेष योजना बनाएर अगाडि बढ्नुपर्ने र त्यसका लागि लुम्बिनी विकास कोषले विशेष चासो दिनुपर्ने बताउनु भयो ।

पूर्ववर्ती सरकारले विश्वविद्यालयको लागि छुट्टाएको ९२ विगाह जग्गा व्यवस्थापन, विश्वविद्यालयले शुरु गरेका अध्यापनका विषयले विश्वद्यालयको उचाई बढेको आफ्नो निश्कर्ष पनि सुनाउनु भयो । पौडेलले लुम्बिनीलाई केन्द्रमा राखेर शुरु गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा गरिएको ढिलाईप्रति पनि सरकारलाई खबरदारी गर्नुभयो ।

‘प्रधानमन्त्री केपी ओलीले विशेष चासो राखेर शुरुवात गराएको लुम्बिनी अन्तराष्ट्रिय विमानस्थल निर्माणमा किन ढिलाई भएको छ ? सबै पत्रकारलाई म खोज्न आग्रह गर्दछु, लुम्बिनी गुरुयोजना र विमानस्थललाई आवश्यक रकम पूर्ववर्ती सरकारले विनियोजन गरेको थियो, किन ढिलाई भएको छ ? आमनागरिकले अब विशेष चासोका साथ यसको जवाफ खोजिरहेका छन,’ पौडेलले भन्नुभयो ।

उहाँले गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थलको दोस्रो चरणको कामका लागि अहिलेसम्म एडीबीसँग ऋण सम्झौता नभएको भन्दै यसको प्रक्रिया छिटो अगाडि बढाउन सरकारसँग आग्रह गर्नुभयो । विमानस्थलको काम सकिएर उद्घाटन गर्ने बेला दोस्रो चरणको काम पनि सँगै सुरु गर्न उहाँले सुझाउनु भएको हो ।