जनता टाइम्स

१७ मंसिर २०७८, शुक्रबार १३:३२

डोटीमा बालविवाह न्यूनीकरण गर्न मतदान


डोटी, १७ मंसिर । दिपायल सिलगढी नगरपालिका–८ लडागडामा बालविवाह न्यूनीकरणका लागि मतदान गरिएको छ । उक्त वडामा उमेर नपुग्दै विवाह गर्ने क्रम बढेपछि सो कार्य रोक्न बालबालिकालाई सानै उमेरमा विवाह गर्नु राम्रो या नराम्रो भन्नेबारे जानकारी लिन मतदान गरिएको हो । बालविवाहबारे सचेत गर्ने उद्देश्यले मतदानको प्रक्रिया अपनाइएको हो ।

‘गुड नेभर्स इन्टरनेशनल, नेपाल’ र सामुदायिक विकास केन्द्रको आयोजनामा विद्यालयमा मतदान गरिएको हो । विद्यार्थी उत्साहित भएर मतदानमा सहभागी भएका सुनादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक नवराज पाठकले बताउनुभयो । बालविवाह उचित नभएको कक्षा १० की छात्रा गङ्गा कडायतको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘बालविवाह गर्नु गलत हो भन्ने सबैले बुझेका छन्, तर अभिभावकको दबाबका कारण बालविवाहले प्रश्रय पाएको छ ।’ मतदानमा १४५ छात्र र १४२ छत्रासहित २८७ विद्यार्थी सहभागी थिए । महिला र पुरुषको उमेर २० वर्ष नपुगी विवाह गर्नुहुँदैन भन्ने कानूनी व्यवस्था छ । तर अभिभावकको करकापले अधिकांश बालबालिकाले २० वर्ष उमेर नपुगी विवाह गर्दै आएका छन् ।

बालविवाह अन्त्यका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट पहल जारी छ । ‘बालविवाहको असरबारे अभिभावकलाई ज्ञान हुन जरुरी छ’, सामुदायिक विकास केन्द्रका सूचना अधिकारी एकराज बडुले भन्नुभयो । उच्च शिक्षा अध्ययन गर्न नसकेपछि यहाँका बालबालिका बीचमै ढाइ छोड्न बाध्य छन् । उनीहरु कोही विदेश जान्छन् भने कतिपयले विवाह गर्ने चलन बढ्दै गएको उहाँको भनाइ छ ।