१७ मंसिर २०७८, शुक्रबार ००:००

आगलागीबाट ७० लाख बराबरको क्षति


सुनसरी, १७ मंसिर । सुनसरीको धरान उपमहानगरपालिका–६ मा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । पानबारीस्थित लिम्बूचैरीका रामबहादुर खड्काको दुई तले काठको घर पूर्ण रूपमा जलेर नष्ट भएको हो । आगलागीको कारण नखुले पनि विद्युतीय सर्टका कारण आगलागी भएको हुनसक्ने इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिनुभयो ।

उहाँका अनुसार श्रीमान् श्रीमती घरको भुइँ तलामा रहेका बेला अकस्मात् आगलागी सुरू भएको थियो । घरमा भएको सुनचाँदी, लत्ताकपडा, खाद्यान्न सम्पूर्ण सामान जलेको प्रहरीले बताएको छ । घर पूर्णरुपमा जल्दा करिब ७० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको धरान प्रहरीले जनाएको छ । आगो नियन्त्रणका लागि धरान उपमहानगरपालिकाको दुईवटा दमकल, नेपाली सेना, प्रहरी र स्थानीयवासीको सक्रियतामा निभाइएको थियो ।