बुटवल, मंसिर १८ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश अधिवेशनमा मुस्लिम समुदायकी २४ वर्षीया महिला डा. अलविरा खान प्रदेश सदस्यका लागि उम्मेदवार बन्नुभएको छ । मुस्लिम महिलातर्फबो कोटाबाट उम्मेदवार बन्नुभएकी खान शुक्रबार दिनभर प्रतिनिधिसँग भोट मागिरहनु भएको थियो । आज शनिबार पनि उहाँले बिहानैदेखि आफूलाई जिताउन आग्रह गर्दै मतदातासँग मत मागिरहनु भएको छ ।
कपिलवस्तु-३ को प्रदेश सभा (ख) बाट प्रतिनिधि भएर उहा लुम्बिनी प्रदेश समिति सदस्यमा उम्मेदवार बन्नुभएको हो । कांग्रेसको १३औँ महाधिवेशनबाट क्रियाशिल सदस्यता लिएको उहाँले बताउनु भयो । ‘मैले १८ वर्षको उमेरमा कांग्रेसको क्रियाशिल सदस्यता लिएकी हुँ, अहिले २४ वर्षकी भएँ, प्रदेश सदस्य भएर जिम्मेवारी निर्वाह गर्न सक्छु भन्ने लागेको छ,’ खानले भन्नुभयो। बाबु अंकित मियाको प्रेरणाबाट आफू राजनीतिमा लागेको उहाँको भनाइ छ । अंकित ३० वर्षदेखि कांग्रस क्रियाशिल सदस्य हुनुहुन्छ । पूर्वक्षेत्रीय सभापति अंकित अहिले महाधिवेशन प्रतिनिधि हुनुहुन्छ ।
चिकित्सक पेशा अंगालेकी हुनाले आफू बिरामीको उपचारमै केन्द्रित हुने र सँगसँगै राजनीतिलाई पनि अगाडि बढाउने उहाँले बताउनु भयो । उहाँ संस्थापन इतर समूहको प्यानलबाट प्रदेश सदस्यमा उम्मेदवार बन्नुभएको छ । मुस्लिम समुदायका महिला राजनीतिमा आउन नसकिरहेको अवस्थामा उहाँले अहिले भने अवस्था फरक रहेको बताउनु भयो । ‘विगतमा मुस्लिम समुदायमा राजनीतिमा लाग्न हुँदैन भन्ने भावना थियो, घरबाट निस्कन पाइँदैन थियो, तर अहिले अवस्था फेरिएको छ, मैले राजनीतिमा लाग्दा परिवारका सबै सदस्यको पूर्ण साथ पाएकी छु,’ खानले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्