जनता टाइम्स

१९ मंसिर २०७८, आईतवार १३:२४

कमल थापाका भतिजा अभिषेकले राप्रपा केन्द्रीय सदस्यबाट राजीनामा दिने


काठमाडौं, १९ मंसिर । राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाका भतिजा अभिषेक थापाले राप्रपा केन्द्रीय सदस्यबाट राजीनामा दिने बताउनुभएको छ । हालै सम्पन्न एकता महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका उहाँ अन्ततः राजीनामा दिने तयारीमा पुग्नुभएको हो ।

महाधिवेशनमा आफूहरूमाथि षड्यन्त्र भएकाले नैतिकताका आधारमा बस्न नमिल्ने भएकाले सदस्यबाट राजीनामा दिने लागेको अभिषेकले बताउनुभयो । ‘पार्टी र राजतन्त्रका लागि हाम्रो परिवारले धेरै योगदान गर्‍यो । तर, जसको लागि योगदान गरियो, उसैले नै षड्यन्त्रपूर्वक पराजय गराउन भूमिका खेल्यो ।

अब पार्टी केन्द्रीय कमिटीमा बस्नु नैतिकताले दिएन । सहकर्मीसँग सल्लाह गरेर केन्द्रीय सदस्यबाट राजीनामा दिने तयारीमा छु’, उहाँले भन्नुभयो । अध्यक्षमा काका कमल थापा पराजित भएपछि उहाँले सदस्यबाट राजीनामा दिन लाग्नुभएको हो । थापा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित हुनुभएको हो ।