जनता टाइम्स

१९ मंसिर २०७८, आईतवार १५:१३

भन्सार छलेर ल्याएको सात सय ५० जोर जुत्ता बरामद


बुटवल, १९ मंसिर । रुपन्देही प्रहरीले १८ लाख बराबरको अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रुपन्देहीको बुटवल उपमहानगरपालिका-२ स्थित तिनाउ पुलबाट भन्सार छलेर ल्याएको अवैध सामान (जुत्ता) सहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।

सैनामैना नगरपालिका(४ मुर्गिया बस्ने ३२ वर्षीय विष्णु थारुले कपिलवस्तुबाट चलाएको लु १ च ८२१३ नम्बरको बलेरो पिकअप जीप बुटवलमा चेकजाँच गर्दा २५ कार्टुन अर्थात सात सय ५० जोर जुत्ता फेला पारेको हो । बरामद सामानको मूल्य करिब १८ लाख रहेको र चालक, जीपसहित बरामद सामानलाई आवश्यक कारवाहीका लागि बेलहिया भन्सार कार्यालय पठाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले जानकारी दिनुभयो ।

यसैबीच, प्रहरीले लागूऔषसहित एकजनालाई रुपन्देहीबाट पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको टोलीले बुटवल उपमहानगरपालिका-७ दीपनगर बस्ने सुनिल गौचनलाई लागुऔषधसहित पक्राउ गरेको हो ।

गौचनको घरमा खानतलासी गर्दा प्रहरीले कोठाभित्र रहेको स्टिलको दराजमा राखिएको सेरीज्याक १३ एम्पुल, नुफिन १३ एम्पुल, फेनरागन १३ एम्पुल, सिरिन्ज १२ थान र विभिन्न किसिमका मोबाइल फोन तीन थान बरामद गरेको हो । पक्राउ परेका गौचनमाथि थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले बताउनुभयो ।